मुटुको चालमा गडबडी भएपछि समस्या

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। अस्वस्थ भएपछि उनलाई बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

असहज महसुस भएपछि बिहीबार राति ११ बजेको समयमा उनलाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरिएको बारेमा उनको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले अहिलेसम्म केही बोलेका छैनन्। 

अस्पताल स्रोतका अनुसार उनको मुटुको चालमा गडबडी भएको थियो । टाउको दुख्ने र शरीरलाई असहज महसुस भएपछि उनलाई विहीबार राति नै मनमोहन पुर्याइएको थियो। परीक्षणका क्रममा उनको मुटुको चालमा गडबडी पाइएपछि चिकित्सकले निगरानीमा राखेका छन्। अहिले उनको अवस्था ठीक रहेको स्रोतले जनाएको छ।

ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी फागुन १९ मा भर्ना भएर फागुन ३० गते अस्पतालबाट बालुवाटार फर्किएका थिए।

शिक्षणबाट बालुवाटार फर्किएपछि ओलीले कोरोना भाइरसको सन्दर्भमा देशबासीलाई दुई पटक सम्बोधन गरेका थिए। उनले एक पटक मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए। बालुवाटर फर्किएपछि ओली सार्क राष्ट्रका प्रमुखहरुको भिडियो कन्फरेन्समा पनि सहभागि भएका थिए।

यसअघि गत फागुन ६ गते मनमोहन सेन्टरमै प्रधानमन्त्रीको मुटुको एन्जिओग्राफी गरिएको थियो। मिर्गौलाको शल्यक्रियाअघि मुटुको पोजिसन थाहा पाउन यसो गरिएको थियो।

१३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली बिरामी पर्दे आएका थिए। तर दोस्रो पटकमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको मुटुमा गडबडी देखिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.