|

बैतडी : भारतबाट नेपाल फर्किँदै गरेका २०० जना सर्वसाधरण सीमा नाका झुलाघाटमा अलपत्र परेका छन्। लकडाउनका कारण चार दिनदेखि उनीहरु बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन्।

चार दिनदेखि आफूहरु झुलाघाटमा अलपत्र अवस्थामा रहेको बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका गजेन्द्र भट्टले बताए। भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बित्तिक्कै कुटपिट गर्ने गरेको छ भट्टले दुखेसो पोखे। उनले भने, ‘मजस्तै २०० जना नेपाली झुलाघाटमै अलपत्र अवस्थामा रहेका छौं।’

भारतीय प्रहरीले देख्ने बित्तिक्कै कुटपिट गरिरहेकाले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको गुरुखोलाकै  रमेश भट्टले बताए। ‘अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले जंगल र महाकाली नदीको किनारमा लुकेर बसेका छौं,’ उनले भने, ‘भारतमा लकडाउन रहेकाले होटेलहरु बन्द छन्, चार दिनदेखि भोकै र बाहिरै सुत्ने गरेका छौं।’

यत्रो दिनदेखि अलपत्र हुँदा समेत जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिले आफूलाई नेपाल पुर्याउन केही पहल नगरेको भन्दै उनीहरु आक्रोशित समेत भएका छन्।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भारतको झुलाघाटमा अलपत्र नेपालीको उद्धारका लागि पहल थालिएको बताए। भारतको पिथौरागढका डिएमलाई सिल भएको नाका खोल्न आग्रह गरिएको उनको भनाइ छ। दुबै देशले नाका सिल गरेकाले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएको प्रजिअ पौडेलले बताए।

६४ जनाको उद्धार 

लकडाउन जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको एकमात्र नाका झुलाघाट सिल भएपछि ट्युबवाट नेपाल आएका उनीहरुको उद्धार गरिएको हो।

दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ को संयुक्त पहलमा उनीहरुको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले जानकारी दिए। महाकाली नदीमा ट्युबबाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

लकडाउनपछि आएका नागरिक दोगडाकेदार गाउँपालिका–४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए। ४२ जनाको बुधवार राति २२ जनाको बिहीबार उद्धार गरिएको हो। उनीहरुलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको दोगडाकेदार–४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। उद्धार गरिएकाहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने छ।

लकडाउनका बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन स्थानीय प्रशासनले आग्रह छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.