|

बारा : पर्सा राष्ट्रिय निकुञ्‍जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ। त्यस क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर सिकारी समूहका एक जनाको मृत्यु भएको छ। 

घटनामा नेपाली सेनाका जमदार मीनबहादुर छन्त्याल घाइते भएका छन्। उनको तिघ्रामा दुई वटा गोली लागेको छ। बाराको २८ नम्बर बाहिर फिल्ड एम्बुलेन्समा राखेर घाइतेको  उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनका अनुसार निकुञ्जको मुख्य क्षेत्र मकवानपुर महादेव पोखरी इलाकामा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ गरेका र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको थियो।

पाण्डेका अनुसार बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी सिकारी समूहले गोली चलाएको थियो । जवाफी फाइरिङमा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो। नियमित गस्तीको क्रममा निकुञ्जको मूल क्षेत्रमा फायिरङको आवाज आएपछि निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोली त्यसतर्फ गएको र सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै  सिकारी समूहले गोली चलाएको थियो । जसमा जमदार छन्त्याल घाइते भएका हुन्।
 
एक जना पक्राउ

सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङलाई पक्राउ गरेको छ। गोली हानाहानमा सिकारी समूहका एक जनाको मृत्यु भएपछि अन्य व्यक्तिहरु भने बन्दोबस्तीसहितको हतियारहरु छाडेर फरार भएका छन्। घटनास्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियारलगायत सामान बरामद गरेको पाण्डेले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.