सहरभन्दा गाउँ जोखिम बन्दै छ गाउँ

|

म्याग्दी : कोरोना भाइरसका कारण संसार नै भयभीत हुँदा म्याग्दीका स्थानीय भने बेपर्वाह झैं छन्। कोरोना भाइरसले संसारलाई आतंकित बनाइएको बेला जिल्लाबासीले भने लापरवाही गरिरहेका छन्। सहरबाट गाउँ फर्किएका र गाउँमै भएका पनि धेरैलाई यसको संक्रमणबारे अनभिज्ञता देखाइरहेका छन्। सरकारले देशभर लकडाउन गरेर घरमै रहन भने पनि जिल्लाका धेरैजसो अटेर गरी यत्रतत्र हिँडिरहेका छन्। हिँडेका मात्र होइनन्, उनीहरुले गैरजिम्मेवार उत्तर दिँदै भन्छन्, ‘कोरोना भाइरस सहर नआई गाउँ आउँदैन, हामीलाई केही हुँदैन।’  

देशभिबैबाट मात्र नभई वैदेशिक रोजगारीमा गएर आउने कैयौं नेपाली गाउँ पसेका छन्। यस्तोमा म्याग्दी पनि अछुत छैन। तर अधिकांश जिल्लाबासीले यसलाई बुझ्न सकेका छैनन्। कोरोना भाइरस सर्ने जोखिमबारे उनीहरु बेखबर भएका छन्।  बेनीबजारसहित जिल्लाका ठूला व्यापारिक केन्द्र, साना बजार सुनसान छन्। तर मेलापात, घाँसदाउरा, सामूहिक छलफल, नाचगान, पैदलयात्रा गर्न स्थानीयले छाडेका छैनन्। एकै ठाउँमा बसेर, समूह बनाएरै गाउँलेहरु कुरा गरिरहेकै हुन्छन्। लाग्छ–उनीहरुले दसैंतिहारको भीडलाई सम्झाइरहेका छन् 

म्याग्दीबासीले गरेका यस्ता लापरवाहीजन्य क्रियाकलापको यतिबेला सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ। भीडबाट मात्र होइन, गाउँमा हिँड्दा उनीहरुले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्ने सामान्य उपायसमेत अपनाएका छैनन्। यस्तो लापरवाहीबारे सोध्दा उनीहरु उल्टै भन्छन्, ‘कोरोनाको प्रवेशद्धार बेनीबजार हो, ‘त्यहाँ नआई हाम्रो गाउँमा पस्दैन, गाउँ सबैभन्दा सुरक्षित छ।’  हरेक बस्तीमा यस्तै किसिमको जवाफ आउँछ। यता जनप्रतिनिधिले समेत कोरोनाको जोखिमसँग जुध्ने प्रभावकारी काम गर्न सकेका देखिँदैनन्। सवारीसाधनको आगमन रोकिए पनि बस्तीहरुमा मोटरसाइकलमा आवतजावत गरेकोसमेत देखिन्छ।

विदेशबाट आएकाले समेत चेकजाँच गरेको, क्वारेन्टाइनमा बसेको भन्दै मानिसहरु हिँड्ने गरेका छन्। बिहानै मास्कसहित आवश्यक सतर्कता अपनाउनुपर्ने साम्रागीसमेत प्रयोग नगरी खेतबारीमा काम गर्ने, विदेशबाट आएकाहरु समेत खुलेआम हिड्ने गरेका छन्। ‘कोरोनाको त्रासले गाउँलेलाई छोएको देखिदैन्, ‘सबै आफ्नै पारामा छन्’, बेनी नगरपालिका तोरीपानीका एक युवाले भने। उनले विदेशबाट आएकाहरु समेत खुलेआम हिँड्न थालेपछि थप जोखिम बढेको बताए। 

बेनी नगरपालिकासहित जिल्लाका सबै गाउँपालिकामा लकडाउनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन्। 

ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीको पहुँच नहुँदा सर्वसाधारणले सरकारी निर्देशनको पालना गर्न अटेरी गरेको स्थानीयकै गुनासो छ। अशिक्षित भन्दा निरक्षरले भन्दा साक्षर र विदेशबाट आएकाहरुले नै बजारमा नआई गाउँमा आउँदैन भन्ने भ्रम फैलाएका छन्।

सहरभन्दा गाउँ जोखिम

कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकबाट धमाधम गाउँमा प्रवेश गरेका छन्। विभिन्न देशबाट ट्रान्जिट हुँदै आएकाहरु संक्रमणको उच्च जोखिममा छन्। बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बजारभन्दा ग्रामीण क्षेत्रको अवस्था अहिले उच्च जोखिममा रहेको बताए। 

‘कोरोनाले सहरबजार, धनी गरिब भन्दैन्,सीधै संक्रमित गाउँमा पुगेको पनि हुन सक्छ’, डा. बस्ताकोटीले भने। उनले विदेशबाट फैलिएको रोग भएकाले समेत विदेशबाट आउनेहरु पहिलो जोखिममा रहेकाले सतर्कता अपनाउनु सबैभन्दा राम्रो हुने बताए। स्वास्थ्य संस्थाहरूमा सामान्य उपकरणको अभाव, मान्छेको चापका तुलनामा क्वारेन्टाइन र आइसोलेसन बेड नपुग्ने भएकाले समेत हेल्चेक्रयाइँले ठूलो क्षति हुने भन्दै व्यक्तिगत सतर्कता अपनाउन चिकित्सकहरूले जोड दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.