नियम पालना गरेर कोरोनाविरुद्ध एक हुन आग्रह

|
फाइल फोटो

काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड–१९) त्रास फैलिएको छ। कोरोनाको संक्रमण फैलनसक्ने भन्दै सरकारले लकडाउन गरेको छ। लकडाउनको आज पाँचौँ दिन हो। 

सरकारले लकडाउन गरेपछि सबै आआफ्नो घरमै भएका छन्। जजनजीवनमा अत्यावश्यक स्वास्थ्य संस्था, सरकारी केही कार्यालय, बैंक, खाद्यान्‍न बिक्रीबाहेक सबै सेवा बन्द छन्। सर्वसाधारणलाई सरकारले घरभित्रै बस्‍न आग्रह गरिरहेको  छ। तर, केहीले सरकारी नियम लत्याइरहेका पनि छन्। लकडाउनको नियम तोडेर बहादुरी देखाउँदै कामबिना र हिँड्ने पासबाहेकका सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा पनि लिइरहेको छ। 

नेपालमा हालसम्म चार जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। तीनजनाको उपपचार जारी भए पनि एकजना उपचारपछि घर फर्किसकेका छन्। लकडाउनपछि सधैँजसो दौडधुपमै रहिरहने नेताहरू समेत घरमै बसिरहेका छन्। राष्ट्रियसभा, प्रतिनिधिसभाको सबै बैठकहरु स्थगन भइसकेको छ। 

प्रतिनिधिसभाको बैठक स्थगन भइसकेपछि सभामुख अग्निप्रसाद सापकोटा संसदीय सन्दर्भसँग जोडिएका विभिन्न पुस्तकहरू अध्ययनमा व्यस्त रहेका छन्। ‘यही २३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अझै सर्नसक्ने सम्भावना पनि छ’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भने, ‘अहिले उहाँ संसदीय विषयवस्तु जोडिएका किताबहरू अध्ययनमा व्यस्त हुनुहुन्छ।’

‘सभामुख सापकोटाको पृष्ठभूमि राजनीतिक मात्रै नभएर शिक्षण पेशामा समेत लामो समय जोडिनुभएकाले उहाँको अध्ययनमा धेरै रुचि छ’ विज्ञ न्यौपानेले थाहाखबरसँग भने, ‘त्यसैले होला उहाँ अध्ययनमा पनि सक्रिय हुनुहुन्छ। फुर्सदको सयमा उहाँ पहिल्यैदेखि अध्ययनमा चासो राख्नुहुन्थ्यो।’

नेपालको पुराना संसदीय विषयवस्तु समेटिएका र अन्तर्राष्ट्रिय संसदसँगै जोडिएका पुस्तकहरू प्रथामिकताको साथ अध्ययन गर्ने गरेको उनको भनाइ छ। ‘पुस्तक अध्ययनबाहेक अनलाइन, टेलिभिज र टेलिफोनमार्फत देशभरको अवस्थाबारे जानकारीमा रहनुहुन्छ’ उनले भने, ‘भेटघाट बन्द गरेपछि फोनबाट उहाँले देश र जनताको अवस्थाबारे जानकारी लिइराख्नु भएको छ।’

एकजुट हुन आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले लकडाउनको पालना गरेर घरभित्रै एकान्तबासमा बसेका नागरिकलाई संयमित हुन र धैर्य गर्न अपिल गरेका छन्। देश मात्रै नभई विश्व नै कोभिड–१९ का कारण विषम परिस्थितिमा भएकाले यस्तो बेला आफू, आफ्नो परिवार र समाजको सुरक्षाका लागि सजग हुन सापकोटाले आग्रह गरेका छन्। 

‘विश्वव्यापी रूपमा महामारीका रूपमा फैलिएको कोरोना भाईरसले विश्वलाई नै आक्रान्त बनाईरहेको छ, यस्तो स्थितिमा सरकारले यसलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिरहेको छ’ उनले भने, ‘अहिले देशमा लकडाउन गरिराखिएको छ, सरकारले गरेका निर्णयहरु सकारात्मक छन।’

सरकारको निर्णय पालना गर्न सहयोग गरेर कोरोना भाइरसविरुद्ध एकजुट हुनका लागि आग्रहसमेत गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.