भोटेकोशीमा अन्तर्राष्ट्रिय मापदण्डको हेल्प डेस्‍क बनाइने

|
फाइल फोटो

विदुर आचार्य

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंकामा तीन जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। सिन्धुपाल्चोकको छिमेकी मुलुक चीनसँग सिमा जोडिएको भोटेकोशी गाउँपालिका ३ का तीन जनालाई आइसोलेसनमा राखिएको हो। 

केही दिनयताबाट कोरोना भाइरससँग लक्षण मिल्ने लक्ष्यण देखिएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। 

‘इराकबाट फर्किएका महिलासहित तीनजनामा कोरोनासँग मिल्ने लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार गराइराखेका छौँ’ उनले थाहाखबरसँग भने, ‘हामीले आज उहाँहरुलेको नमुना परीक्षणका लागि टेकु पठाएका छौँ। अबको तीन दिनसम्मा रिपोर्ट आउँने बताइएको छ।’ 

सिन्धुपाल्चोकमा १२ ओटै स्थानीय तहहरूले कोरोनाको संक्रमणपछि वैदेशिक रोजगारीबाट फर्केका सबैको स्वास्थ्य परीक्षण गराउन विवरण माग गरेका छ। विदेशबाट फर्केकालाई १४ दिनको क्वारेन्टाइन अनिवार्य समेत गरेका छ। 

अन्तर्राष्ट्रिय मापदण्डको हेल्प डेस्‍क बन्‍ने

कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिईरहेकोले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तर्रष्ट्रिय मापदण्डको ‘हेल्प डेस्‍क’ सञ्चालनमा ल्याईने भएको छ। 

शनिबार बसेको जनप्रतिनीधिहरुको बैठकले डब्लु एच ओ को मापदण्डअनुरूप हेल्प डेस्‍क स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ। 

गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण वढेमा धुलिखेल अस्पताल पठाईने व्‍यवस्था मिलाउने पनि पालिकाले निर्णय गरेको छ। 

कोरोना भाईरस जाँच गर्ने तथा अन्य स्वास्थ्य सामाग्री सहितका सामाग्री तातोपानी भन्सारवाट आँउदै गरेकोले गाउँ कार्यपालिकाको बैठक बसी थप सरक्षा सावधानीबरे छलफल गर्ने गर्ने भएको छ। 

‘गाउँ कार्यपालिका र व्‍ययसायीहरूसँग छलफल गरी थप सुरक्षा सावधानीको व्‍यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘डब्लु एच ओ को मापदण्डअनुसार हेल्प डेस्‍क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.