कार्यकर्तालाई स्वयंसेवी भूमिका निर्वाह गर्न निर्देशन

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना (कोभिड १९) भाइरस संक्रमणबाट बच्‍न सरकारले लगाएका नियम पालना गर्न आग्रह गरेका छन्‌। साथै 'लकडाउन' का कारण समस्यामा परेका श्रमिकहरूका लागि सरकारले राहत प्याकेज ल्याउने आश्वासन पनि दिएका छन्‌।

शनिबार एक भिडियो अपील जारी गर्दै सत्तारूढ पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले नियमहरू पालना गरी संयमित भई बस्न आग्रह गरेका हुन्‌। भिडियोमा अध्यक्ष प्रचण्डले विश्वभर फैलिएको भाइरसबाट ६ लाखभन्दा धेरै मानि संक्रमित र २७ हजारले ज्यान गुमाइसकेको बताउँदै नेपालमा पनि सजगता अपनाउन आवश्यक भएको उल्लेख गरेका छन्‌।

‘यतिबेला सिंगो विश्व संर्घषरत छ, नेपाल सरकारले पनि त्यसमा संघर्ष गरिरहेको छ, त्यसमा जनताको साथ आवश्यक हुन्छ,’ प्रचण्डले भनेका छन्‌, ‘सरकारले लगाएको लकडाउनको पालना गरेर र आफ्नो स्वास्थ्यमा ध्यान दिएको खण्डमा हामी यो महामारीबाट बच्न सक्छौँ।’

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमण जोखिमको उच्च जोखिम राखेको चर्चा गर्दै प्रचण्डले अहिलेसम्म अवस्था नियन्त्रणमै रहेपनि सरकारी नियम लत्याएको खण्डमा ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आउने बताएका छन्‌।

सातै प्रदेशमा कोरोना परिक्षण व्यवस्थापन गर्ने तयारीमा सरकार रहेको पनि प्रचण्डले जानकारी गराएका छन्‌। उनले भनेका छन्‌, ‘अहिले लकडाउनले मूख्य समस्या श्रमिकहरुलाई परेका छ। तर, सरकारले श्रमिकको पक्षमा राहात प्याकेज ल्याउने पक्षमा छ, गरीब र श्रमिकको पक्षमा यतिबेला निजी क्षेत्रले समेत मुठ्ठी फुकाउन आवश्यक छ।’

स्थानीय र प्रदेश सरकारले पनि कोरोना रोकथामको लागि सक्रिय भएर लाग्न आवश्यक भएको प्रचण्डले बताएका छन्‌। नेकपाको सबै नेता-कार्यकर्तालाई स्वयंसेवकको रूपमा लाग्न पनि आग्रह गरिसकेको उनले उल्लेख गरेका छन्‌। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी उच्च जोेखिममा रहेको हुनाले राज्यका तर्फबाट थप जोड दिन पनि उनले आग्रह गरेका छन्‌।

नेपालमा हालसम्म केही मानिसहरूलाई मात्र कोरोना संक्रमण देखिएको र उपचार जारी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै प्रचण्डले चीन, कोरिया, र अमेरिकालगायत मुलुकबाट नेपाल सरकार र नेपालीले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्‌।

नेकपा अध्यक्ष प्रचण्डको भिडियो अपील:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.