करिब ५७ पर्यटक गाइड लुक्ला क्षेत्रमा अझै अलपत्र

|

सोलुखुम्बु : खुम्बु क्षेत्रबाट एकै दिन पाँच जना नेपालीसहित १ सय ७८ जना पर्यटकको उद्धार गरिएको छ। शनिबार विभिन्न एयरलाइन्सका १४ उडानमार्फत उनीहरुको उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। 

प्रजिअ आचार्यका अनुसार तीमध्ये १ सय ७३ जना विदेशी र ५ जना नेपाली छन्। नेपाल वायुसेवा निगमको जहाजले उनीहरुलाई काठमाडाैं लगेको नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए।

त्यस्तै तारा एयरलाइन्सले ४ उडानबाट ५४ जना, सीता एयरलाइन्सको २ उडानबाट २८ जना, सिम्रिक एयरको १ उडानबाट ३ नेपालीसहित १७ जना विदेशी पर्यटकलाई काठमाडौं लगिएको छ। यस्तै कैलाश एयरको हेलिकप्‍टरले २ उडान गर्दै १ नेपालीसहित ९ जना विदेशी पर्यटको उद्धार गरेको सोलुखुम्बु प्रशासनले जनाएको छ।

शुक्रबार तेञ्‍जिङ हिलारी विमानस्थल लुक्लाबाटै १६ जना विदेशी पर्यटकको उद्धार गरिएको थियो। यस्तै बिहीबार एक नेपालीसहित १९ विदेशी पर्यटकको उद्धार गरी काठमाडौं पठाइएको सहायक सिडिओ लक्ष्मीकुमारी शाहीले जानकारी दिइन्। उनका अनुसार शनिबारसम्म खुम्बु क्षेत्रबाट २ सय २३ पर्यटकको उद्धार गरिएको छ।

खुम्बु क्षेत्रमा रहेका पर्यटक गाइड धनकुमार तामाङका अनुसार करिब ५७ जना पर्यटक गाइड लुक्ला क्षेत्रमै अझैअलपत्र छन्। अन्य पर्यटक गाइड नाम्चेबाट झर्दै गरेको खबर पाएको उनले बताए। लुक्लामा रहेका पर्यटक गाइडले शुक्रबार संयुक्त पत्र नै लेखेर उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेका थिए। 

आकस्मिक रुपमा नेपाललाई लकडाउन गरिएपछि खुम्बु क्षेत्र भ्रमणका लागि आएका पर्यटक अलपत्र परेका हुन्। विदेशी पर्यटकलाई दूतावासको पहलमा उद्धार गरिएको भए पनि आफूहरुको उद्धार हुन नसकेको पर्यटक गाइडको गुनासो छ। 

यता सोलुखुम्बुका सिडिओ आचार्यले भने पर्यटक गाईडहरुको उद्धारका लागि पहल भइरहेको बताए। उनका अनुसार करिब ८४ जना विदेशीसहित १ सय ८४ जना पर्यटक खुम्बु क्षेत्रमा छन्। नाम्चे क्षेत्रबाट पर्यटकहरु झर्ने क्रम जारी रहेको हुँदा उक्त संख्या बढ्न सक्ने उनले बताइन्। 

उनीहरुको उद्धारका लागि पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय भइरहेकाले सोमबारसम्म उद्धार गरिसक्ने बताइएको छ। हवाई या सडकमध्ये कुनै एक माध्यमबाट उनीहरुको उद्धार गर्ने विषयमा छलफल भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.