प्रजिअ सुवेदी भन्छन् : कर्मचारीले आफूखुसी झिकेछन्

|

पाल्पा : पाल्पामा स्वास्थ्यकर्मीलाई पठाइएको पिपिई सेटमा रहेका मास्क हराएका छन्। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पठाएका मास्क हराएका हुन्। मास्क हराएकोबारे चार दिनदेखि जिल्लामा विभिन्न टीकाटिप्पणी भइरहेको छ।

प्रशासनका अधिकारी र जनप्रतिनिधि मिलेर मास्क लिएको भन्ने सामाजिक सञ्जालमा भाइरल बनेपछि यो घटना बाहिर आएको हो। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पाल्पा अस्पतालका स्वास्थ्यकर्मीलाई पाँच सेट पिपिई अर्थात् -Personal protection equipment_ सहयोगस्वरूप प्रदान गरेको थियो। सिजीका एक प्रतिनिधिले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई उनको कार्यालयमै पुगेर  पिपिई हस्तान्तरण गरेका थिए।

हामीलाई खोलेको प्याकेट दिइयो : चिकित्सक

चैत १२ गते पिपिईका सेट जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण भएको थियो। अर्को दिन अर्थात् १३ गते बेलुकीपख पाल्पा अस्पतालका प्रमुख डाक्टर पुष्प ज्ञवालीलाई ती सामग्री हस्तारन्तरण गरिएको थियो। डाक्टर ज्ञवालीले आफूले सामग्री लिनेक्रममा पिपिईको सेट भएको प्याकेट खोलिएको अवस्थामा रहेको बताए।

एउटा सेटमा भित्र ८ प्रकारका सामग्री हुनुपर्ने थियो। जुन पिपिई सेटको बाहिरी कभरमा भित्र भएका सामग्रीको क्रमसंख्या र नाम उल्लेख छ। ६ नम्बरमा उल्लेख भएको face mask N 95 -NIOHS नामक मास्क नभएको अस्पतालका प्रमुख डाक्टर ज्ञवालीले बताए।

आफूले प्याकेट खोलिएको अवस्था र मास्क नभएकोबारे तत्काल प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको उनको भनाइ छ। यसबारे बुझ्ने प्रमुख जिल्ला अधिकारीज्यूले आफूलाई जवाफ दिएको ज्ञवालीले बताए। 

यस्तो व्यवहारले दु:ख लागेको छ

स्वास्थ्यकर्मीलाई आएको पिपिईमा भएको यस्तो खालको व्यवहारले आफूलाई दुःख लागेको पाल्पा अस्पतालका नर्सिङ इन्चार्ज लक्ष्मी जिसीले बताइन्। ‘स्वास्थ्यकर्मी सुरक्षित रहन सके अन्य मानिस पनि सुरक्षित रहने हो’ उनले भनिन् ‘पर्याप्त स्वास्थ्य कवज नहुँदा त्रासमा काम गर्र्नुपर्ने बाध्यता छ।’ आएका सामग्री पनि पूरा नपाएको उनले गुनासो गरिन्।

कर्मचारीले निकालेछन् प्रजिअ सुवेदी

मास्क हराएकोबारे पत्रकारले साधेको प्रतिक्रियामा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जसले सामाजिक फोरममा राखेको छ उसैलाई सोधे राम्रो हुन्छ नि, भन्ने जवाफ दिएका थिए। तर त्यसको केहिदिन पछि अर्थात् शनिबार जिल्लाको एक सञ्चार माध्यममा दिएको अन्‍तर्वार्तामा मास्क प्रशासन कार्यालयका कर्मचारीले प्रयोग गरेको प्रतिक्रिया दिएका छन्।

जनप्रतिनिधिले पनि आफूहरूलाई लगाएको आरोपको खण्डन गर्दै शनिबार नै विज्ञप्ति निकालेका थिए।

आफूलाई कुनै जानकारी नदिई कर्मचारीले मास्क प्रयोग गरेको प्रजिअ सुवेदीले बताए। ‘मेरो आफ्नै पहलमा पिपिई आएको हो। मैले किन दुरूपयोग गर्छु र?’ उनले भने ‘म नभएको बेलामा कार्यालयमा प्रत्यक्ष अगाडि बसेर जनताको काम गर्ने कर्मचारीले लगाएका रहेछन्। पछि थाहा भयो।’

मास्क प्रयोग गर्ने कर्मचारीको पनि गलत नियत नभएको उनले स्पष्ट पारे। सामान्य सोचेर जनताको काम गर्ने हामीले लगाउँदा पनि के हुन्छ र? भन्ने भावनाका साथ यहाँका कर्मचारीले मास्क लगाएको हुनसक्ने उनको बुझाई छ। ‘तर बाहिर हल्ला आएजस्तो म प्रमुख जिल्ला अधिकारीको कुनै पनि संलग्नता नरहेको र मास्कसमेत प्रयोग नगरेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेका छन्।

 जनप्रतिनिधिले निकाले विज्ञप्ति

मास्क हराएको विषयलाई लिएर पाल्पाका जनप्रनिधिहरुले शनिबार विज्ञप्ति निकालेका छन्। सामाजिक सञ्जालमा प्रशासनका अधिकारी र जनप्रतिनिधिले मास्क बाँडेर लिएको आरोप लागेपछि आरोपको खण्डन गर्दै आफूहरू यसमा संलग्न नरहेको भन्दै विज्ञप्ति निकालेका हुन्। उनीहरूले पिपिईको सेटमा रहेको मास्क दुरुपयोगबारे छानविन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका प्रमुख एवम् नगरपालिका संघ नेपालका केन्द्रीय सदस्य अशोककुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद बस्याल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले विज्ञिप्तिमा हस्ताक्षर गरेका छन्।

‘पिपिइ सामग्रीसम्बन्धी यथार्थ छानविनसहित जनप्रनिनिधिलाई बदनाम गराउने तथा प्राप्त सामग्री दुरुपयोग गर्ने उपर अविलम्ब आवश्यक कारवाही गर्न उनीहरूले माग गरेका छन्।  त्यस्तो सन्देश भ्रमपूर्ण रहेको र जनप्रतिनिधिहरुले त्यो मास्क नझिकेको स्पष्ट पार्न विज्ञप्ती निकाल्नु परेको प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले बताए।

प्लाष्टिक बेरेर परीक्षण

जिल्लामा पिपिईको व्यवस्था नहुँदा पाल्पामा स्वाथ्यकर्मीले प्लाष्टिक बेरेर क्वारेन्टाइनमा बसेका मानिसको परीक्षण गर्नु परेको थियो। जुन समाचार केहि दिन अघि थाहाखबरमा समेत प्रकाशित भएको थियो।

यस्तो अवस्थामा पिपिई सेटमा रहेका मास्क हराएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। पिपिई सेटमा मास्क भएन भने अन्य सामग्रीले मात्र स्वास्थ्यकर्मी सुरक्षित हुन नसक्ने चिकित्सकको भनाइ छ। मास्कको दुरूपयोग भएको प्रति यहाँका बुद्धिजीविले दुःख प्रकट गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.