|

तनहुँ : म्याग्दे गाउँपालिकाले हरेक टोल विकास समितिका अध्यक्षहरूलाई कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि इकाई कार्यान्वयन समूह 'युनिट एक्सन टिम' मा खटाउने तयारी गरेको छ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा शनिबार बसेको स्थानीय समन्वय समितिको बैठकले टिम खटाउने निर्णय गरेको हो। बैठकले हरेक टोल विकास समितिमार्फत कोभिड १९ को रोकथामका लागि परिचालन गर्ने र तथ्यांक संकलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएकोे गाउँपालिका अध्यक्ष रानाले बताइन्।

‘टोल विकासमार्फत कोभिड १९ का शंकास्पद व्यक्तिको तथ्यांक लिने, संक्रमणको जोखिम, लक्ष्यण र आवश्यक पहिचान गर्नेछन्,’ प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले भने।

गठित टिम संयोजकले त्यस्ता व्यक्तिको विवरण वडा अध्यक्ष वा स्वास्थ्यकर्मीलाई दिने बताउदै प्रमुख प्रशासकीय अधिकृत नागिलाले विरामीलाई तत्कालै उपचारको व्यवस्था गरिने बताए।  गाउँपालिकाका ७ वडामा ८२ वटा टोल विकास संस्था रहेका छन्।

गाउँपालिकाले विभिन्न देशबाट घरमा आएका २१ व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको छ। त्यस्तै गाउँपालिकाभित्र आवश्यक ढुवानीको व्यवस्था तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाइले गाउँपालिकाको समन्वयनमा गर्ने भएको छ।

लकडाउनको समयमा दैनिक उपभोग्य सामानमा उपभोक्तालाई सहज होस् भनेर सो निर्णय गरिएको प्रवक्ता शिवशरण वाग्लेले बताए। त्यसैगरी व्यास नगरपालिका १ नम्बर वडाले २६ टोल विकास समितिका अध्यक्षलाई परिचालन गरी विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन तथा कोभिड १९ सम्बन्धी सचेतना दिँदै आएको छ।

विदेशबाट आएका व्यक्तिको अवस्था सामान्य रहेको व्यास १ का वडा अध्यक्ष खरसिं दरैले जानकारी दिए। तथ्यांक संकलन कार्य जारी रहेको र भेटिएकाहरू होम क्वारेन्टाइनमा रहेको पनि दरैले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.