तातोपानी नाकामा ‘हेल्प डेस्‍क’

|

विदुर आचार्य

सिन्धुपाल्चोक : जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा संक्रमण नियन्त्रणका लागि ६० लाखको कोष स्थापना हुने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको चुस्त समिति (कमाण्ड फोर्स), राजनीतिक दलका प्रमुख र १२ वटा स्थानीय सरकारका प्रमुखको संयुक्त बैठकले ६० लाखको क्षेत्रीय कोष स्थापना गर्ने निर्णय गरेका हो।

कोषका लागि प्रत्येक स्थानीय तहले पाँच लाख कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए। स्थापना भएको कोष प्रमुख तामाङको संयोजकत्वमा सञ्चालन हुने र सञ्चालन कार्यविधि निर्माण गर्नेसमेत निर्णय गरेको छ। 

सिन्धुपाल्चोकको साविक तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनै निर्वाचन क्षेत्रको केन्द्र मेलम्ची, चौतारा र वाह्रविसेमा कोरोना संक्रमण उपचार केन्द्र निर्माण गर्ने त्यसको अगुवाई सम्बन्धित नगरपालिका प्रमुखले समेत निर्णय भएको छ। कोषमा प्रदेश सरकार र अन्य निकायलाई सहयोगको अपिल गरिएको र एकद्धार नीतिबाट खर्च हुने उनको भनाइ छ। 

‘प्रत्येक स्थानीय तहमा चालक र बिरामीको प्रत्यक्ष सम्पर्क नहुने गरी एम्बुलेन्समा क्याविन पटेसन गरी तयारी अवस्थामा राख्न भनिएको छ, त्यसको विकल्पमा सिंगल क्याविनको वोलेरो प्रयोग गर्न पनि सकिन्छ,’ समन्वय प्रमुख तामाङले भने, ‘जिल्लाका बजार क्षेत्रमा ‘डिसईन्फेक्सन’ स्प्रे गरिनेछ।’ 

नागरिकहरूमा सही सूचना आदानप्रदान गर्न स्थानीय तहको स्वास्थ्य प्रमुखहरुको मेसेन्जर ग्रुप निर्माण गरिने जानकारी दिए। बैठकले नेपाल सरकारले तातोपानी नाका सञ्चालनको निर्णयलाई स्वागत गर्दै प्रभावकारी हेल्प डेस्‍क निर्माण गरी सावधानीपूर्वक आवागमन र सञ्चालनमा सहयोग पुर्‍याउने निर्णय गरेको छ। 

पर्याप्त खाद्यान्न, औषधि स्थानीय तहले उपलब्ध गराउने र अस्पताल तथा स्वास्थ्य संस्थाले प्रवाह गर्ने अत्यावश्यक सेवा निरन्तर प्रवाह गर्ने जनाईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.