|

बागलुङ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी एक युवतीको गाउँमा नगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको छ। आइतबार बिहान बागलुङ नगरपालिका–४ कुँडुले गाउँमा दमकल प्रयोग गरी नगरपालिकाले कीटनाशक औषधि छर्किएको हो।

संक्रमित भेटिएकाले सो गाउँमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै कीटनाशक औषधि छर्किएको नगर प्रमुख जनकराज पौडेलले बताए। जनस्वास्थ्य शाखाको प्राविधिक समुहको सिफारिसमा गाउँभरी नै कीटनाशक औषधि छर्किएको छ। कोरोना पुष्टि हुनुपूर्व 'होम क्वारेनटाइन'मा रहेकी युवती पुगेका गाउँका सबै स्थानमा औषधि छर्किएको पौडेलले बताए। उनका अनुसार त्यहाँ कीटनाशक क्लोरिन झोल छर्किइएको छ। 

बागलुङकी कोरोना संक्रमितलाई अञ्‍चल अस्पताल ल्याइयो, त्यहीँ उपचार गरिने

३.५ किलोग्राम क्लोरिनलाई पानीमा मिश्रण गरेर ३ हजार ५ सय लिटर झोल गाउँमा छर्किएको जनस्वास्थ्य शाखाका सह-संयोजक डिल्ली आचार्यले जानकारी दिए। ‘सरसफाइमा ध्यान दिन गाउँलेलाई प्रेरणा मिलोस भनेर हामीले औषधि छर्किएका हौं,’ उनले भने, ‘यसले बाहिर रहेका किटाणुहरु मार्छ।’

नगरपालिकाका अनुसार युवतीमा कोरोना संक्रमणको पुष्टि भएपनि थप सर्वसाधारणमा संक्रमण फैलिन नदिन लागि औषधि छर्किएको हो। नगरपालिकाले संक्रमण पुष्टि भएकी युवतीको गाउँलाई थप निगरानीमा राखेको छ।

गाउँका धेरै मान्छे भीडभाड हुने चोकहरु, सार्वजनिक स्थलहरु, घर छेउका धारा-पँधेरा तथा व्यक्तिका घरका झ्याल ढोकामासमेत औषधि छर्किएको नगरपालिकाले जनाएको छ। गत शुक्रबारदेखि बागलुङ बजारका मूख्य चोकहरुमा समेत कीटनाशक औषधि छर्किएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.