|

काठमाडौं : जननेता मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण आजकल मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष छिन्। आमा विद्यादेवी राष्ट्रपति भएपछि फाउण्डेसनको नेतृत्व उनको हातमा आएको छ।  

बाबुआमा दुवै राजनीतिमा सक्रिय भएपनि उषाको चाहना राजनीति भन्दा बढी समाजसेवातिर छ। त्यसैले उनी फाउन्डेसन मार्फत नै सामाजिक काममा सक्रिय हुने बताउँछिन्। मदन र विद्या राजनीतिमा सक्रिय रहेकै समयमा उनीहरुका दुई छोरी उषाकिरण र निशाकुसुम जन्मिएका थिए। अहिले त छोरीहरुले आफ्नै पारिवारिक जीवन शुरु गरिसके। 

पब्लिकसँग सम्पर्क बढ्यो

नेपाली समाजले उषालाई लामो समयसमेम मदन भण्डारीकी छोरीको रुपमा लियो। अहिले उनी भइन् राष्ट्रपतिकी छोरी। बाबुआमा नै नेता भएका कारण सानो छँदैदेखि उषाकिरणले घरभित्र र बाहिर धेरै मानिसहरु भेट्न पाइन्। उनीहरु स्कुल छुट्टीका दिनमा आमासँगै राजनीतिक कार्यक्रममा गाउँमा पनि पुग्थे। आफ्नी आमा र अरु नेताहरुको भाषण सुन्थे। त्यो क्रम पछिसम्मै रह्यो। आमा विद्या भण्डारी राष्ट्रपति भएपछि त झन् उनको जनसम्पर्क बढेको छ।  'अहिले मेरो पब्लिकसँग सम्पर्क बाक्लिएको छ। यसअघि म पब्लिकसँग प्रत्यक्ष सम्पर्कमा थिइन, व्यक्तिगत जीवनमै व्यस्त थिएँ' उनले भनिन्।

त्यसैले हिजोआज उनलाई आफूले पब्लिक लाइफ बिताइरहेको अनुभूति हुन्छ। उनी कहिलेकाहीँ आमासँगै सार्वजनिक कार्यक्रममा पुग्छिन्। 'उहाँ (राष्ट्रपति)सँग यात्रा गर्दा प्रोटोकलको हिसाबले भूमिका निभाउनुपर्ने हुन्छ। त्यो त आफ्नो ठाउँमा रहने नै भयो। त्यसबाहेक बाहिर त म सामान्य रुपमा नै हिडिरहेको हुन्छु' उनले भनिन्। 

ममी राष्ट्रपति बन्नुहोला भन्ने लागेको थिएन

मदन भण्डारीकी पत्नी भएका कारण विद्या राजनीतिमा स्थापित भएको चर्चा पनि हुन्छ। तर उषा आफ्नी ममी पनि क्षमतावान र मेहनती नेता भएको बताउँछिन्। बुवासँगै जोडिएर आउने स्ट्याटससँगै मम्मीको पनि नेपाली राजनीतिमा धेरै लगानी रहेको उषाको भनाइ छ।

'उहाँ ड्‍याडीको श्रीमती भएका कारणले धेरैको भावनात्मक सम्बन्ध रहने आफ्नो ठाउँमा छ। तर उहाँ आफै पनि क्षमतावान लिडर हो' उषाले भनिन् 'होइन भने कसैको एकजनाको नामले मात्र यत्रो वर्ष बाँच्‍न र यो स्ट्‍याटससम्म आइपुग्‍न सकिदैन।' 

यदि मदन भण्डारीको आडमा मात्र राजनीति गरेको भए ममी विद्या राष्ट्रपति नबन्ने उषा बताउँछिन्। 'कसैको नाम लिएर केही समय अगाडि त गइएला तर आफ्नो खुबी भएन भने लामो समयसम्म टिक्न अवश्य गाह्रो हुन्छ। कुनै पनि क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो एउटा खुबी पनि हुनैपर्छ' उषा भन्छिन्। 

आफ्नो मम्मीको क्षमतामाथि अनावश्‍यक प्रश्न उठाउँदा उषाको चित्त दुख्छ। 'उहाँलाई पुट डाउन गर्नका लागि अथवा केही गर्नका लागि मान्छेहरुले मदन भण्डारीको श्रीमती भएका कारणले यस्तोउस्तो भयो भन्छन् होला तर उहाँको आफ्नै राजनीतिक इतिहास पनि छ' उषा भन्छिन्, 'नेपाली महिला आन्दोलन यहाँसम्म ल्याउनका निमित्त उहाँले धेरै लगानी गर्नुभएको छ। त्यसले गर्दाखेरि पनि उहाँ पब्लिकसामु लोकप्रिय नेता नै हो।' 

क्षमतावान नेता हो भन्नेमा शंका नरहेपनि उषालाई आफ्नी आमा राष्ट्रपति बन्ने कल्पना गरेकी थिइनन्।  'ममी कुनैदिन राष्ट्रपति बन्‍नुहुन्छ होला भन्‍ने कहिलेपनि लागेन। म र मेरो बहिनीले कहिलेपनि त्यस्तो कुरा सोचेका थिएनौंं। उहाँ एउटा राजनीतिज्ञ हुनुहुन्छ त्यही नै हुनुहुन्छ भन्‍ने लागेको थियो' उषा भन्छिन्। 

हप्तामा १-२ पटक भेट

राष्ट्रपतिका दुवै छोरीहरुको विहे भइसकेको छ। जेठी छोरी उषाको केही वर्षअघि नै भएको थियो भने कान्छी निशाको यही माघमा भएको हो। उषा राष्ट्रपति भवनमा बस्दिनन्। बाहिरै बस्ने भएकाले ममीसँग धेरै भेट हुँदैन। हप्तामा एक दुई पटक भेट हुने उनी बताउँछिन्। 'अहिले ममी राष्ट्रपति भइसकेपछि उहाँ धेरै व्यस्त हुनुहुन्छ' उनले भनिन्, 'त्यहाँको सुरक्षा अवस्था पनि निकै कडा हुन्छ। म श्रीमानसँग बाहिर नै बस्छु। हप्तामा १/२ पटक भेट हुन्छ।'

विद्या राष्ट्रपति नहुँदै पनि आमाछोरीको अन्तरंग कुराकानी हुन पाएन। धेरैजसो राजनीतिक र सामाजिक विषयमा नै कुराकानी हुन्थ्यो। 'ममी र हामीबीचमा पहिलेदेखि नै व्यक्तिगत कुराहरु खासै गर्नु हुदैनथ्यो। घरायसी कुराहरु कमै हुन्थे। पहिलेदेखि नै उहाँले हामीसँग सामाजिक विषयहरुमा कुरा गर्नुहुन्थ्यो' उषा भन्छिन्, 'उहाँले वातावरण जोगाउने, र कृषिका कुरा गर्नुहुन्थ्यो। कतै रुखहरु, बोटबिरुवा देख्यो भनेपनि यो चाहिँ यो जातको हो, यसको महत्व यस्तो छ, यसरी हुर्काउनुपर्छ भन्‍नुहुन्थ्यो।'

राष्ट्रपति संस्थाको मर्यादा

नेपालमा गणतन्त्र आएको धेरै भएको छैन। अहिलेकी राष्ट्रपति भण्डारीअघि डा. रामवरण यादव राष्ट्रपति थिए। उषालाई लाग्छ राष्ट्रपति कार्यालयको काम कर्तव्य र अधिकार अझै स्पष्ट भइसकेको छैन। नेपालमा यो नयाँ संस्था भएकाले यसलाई स्थापित गर्न राष्ट्रपति स्वयं नै लाग्नुपर्ने उनको भनाइ छ।

'राष्ट्रपतिको संस्था के हो, यसले के काम गर्छ भनेर संविधानमा उल्लेख भएपनि यसको कामलाई व्यवस्थित गर्ने काम राष्ट्रपति कार्यालयलेकै हो। त्योविषयमा पूर्व राष्ट्रपतिबाट पनि केही काम भयो, अब उहाँको पालामा पनि अझै यो–यो काम राष्ट्रपतिले हेर्ने हो भनेर यो संस्थालाई स्पष्ट रुपमा व्याख्या हुन्छ होला' उषाले भनिन्।

राजनीति होइन सामाजिक काम गर्छु 

नेपाल लगायत धेरै देशमा नेताका परिवारका सदस्यहरु पनि राजनीतिमा सक्रिय हुन्छन्। तर जननेता मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाको रुची राजनीतिमा छैन। उनी राजनीतिमा सक्रिय हुने सोँच नरहेको बताउँछिन्। 

'म एउटा राजनीतिक वातावरण भएको परिवारमा जन्मिएँ। त्यहीँ हुर्किएँ, राजनीतिक नेतृत्वहरु आउँदा उहाँहरुसँग भेटघाट हुने राजनीतिक गतिविधिको बारेमा थाहा हुने। पहिलेदेखि नै थियो' उषा भन्छिन् अहिले पनि राजनीतिक गतिविधिको बारेमा त्यति नै जानकारी मसँग हुन्छ। तर म प्रत्यक्ष रुपमा राजनीतिमा संलग्‍न छैन। अहिलेसम्म कुनै दिन राजनीतिमा आवद्ध रहुँला भनेर अहिलेसम्म सोचेको पनि छैन।'

त्यसो त नेकपा एमालेको नवौं महाधिवेशनताका मदन भण्डारीकी छोरी राजनीतिमा सहभागी भएको खबर सार्वजनिक भएको थियो। उनी नवौं महाधिवेशनमा पनि राजनीतिक गतिविधिमा सहभागी नभएको बताउँछिन्। 'महाधिवेशनमा म एमालेको ट्रेड यूनियन संगठन जिफन्टमा म काम गर्थेँ। महाधिवेशनको व्यवस्थापनका लागि केही जिम्मेवारी जिफन्टले पनि लिएको थियो। त्यहाँ मेरा अग्रजहरुले जे भन्‍नुभएको थियो त्यो काम मैले गरेको थिएँ।'

फाउण्डेसनलाई अगाडि बढाउँछु

मदन भण्डारी फाउण्डेशनको अध्यक्षको जिम्मेवारीमा रहेकी उषा अब फाउण्डेसनमार्फत सामाजिक काममा सक्रिय हुने बताउँछिन्। फाउण्डेसन पनि कुनै न कुनै रुपमा राजनीतिमा जोडिएकाले राजनीतिमा पनि आफ्नो योगदान रहने उनको बुझाइ छ।

'फाउण्डेसनको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको छु। अब यहीबाट सामाजिक विषयहरुमा काम गर्ने मेरो रुचि छ। म मेरो ड्‍याडी र ममीको बाटोमै हिँडेको हो भन्‍ने लाग्छ' उषाले भनिन् 'प्रत्यक्ष रुपमा राजनीति गरेर नै त्यो बाटोमा हिँड्ने भन्‍ने विषयमा भने अहिलेसम्म सोचेको छैन। अब धेरै ढिला पनि भैसक्यो। अहिलेसम्म सोचिनसकेको कारणले अब त ढिलो नै भैसक्यो भन्‍ने लाग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.