|

पर्वत : छिमेकी जिल्ला बागलुङकी एक युवती कोरोनाबाट संक्रमित रहेको पुष्टि भएपछि पर्वतमा कोभिड १९ प्रतिको त्रास झनै बढेको छ। शनिबार ती युवतीमा संक्रमणको पुष्टि भएदेखि नै उनी पर्वतमा पनि आएर घुमेको भन्‍न‍े हल्ला फैलिएपछि बजारदेखि गाउँसम्म पनि त्रास बढेको छ। 

यद्यपि ती युवती पर्वतमा घुम्‍न आएको विषयमा अहिलेसम्म कुनै पनि प्रमाण फेला नपरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ। सर्वसाधारणबीच ती युवती घुम्‍न आएका विषयमा अनावश्यक बहस र अड्कलबाजी भइरहँदा नागरिक त्रासमा छन्।

स‌ंक्रमित युवती कालीगण्डकी नदीमाथि रहेको बन्जीजम्प आसपासको क्षेत्रमा घुमेको र पिङसमेत खेलेको भन्दै आइतबार सबेरै बजारमा हल्ला पैmलिएको थियो। यही कारण आइतबारदेखि पर्वतमा कोरोनाको त्रास झनै बढेको छ। शनिबारको तुलनामा यही हल्लाको कारण पनि बजार र गाउँहरू पनि सुनसान बनेको देखिएको छ भने धेरैले संक्रमित व्यक्ति पर्वत छिरेका कारण पर्वतवासीहरू पनि जोखिममा रहेको भन्दै बढी सतर्क भएका छन्। 

यता, ती युवती कुस्मामा घुमेको र पिङ खेलेको भन्ने हल्ला गरे पनि कालीगण्डकी नदीमाथिको भिरमा पिङ सहितको रक गार्डेन रेष्टुरेष्ट सञ्चालन गरिरहेका नरेन्द्र खत्रीले सङ्क्रमित युवती आफ्नो रेस्टुरेन्टमा नआएको बताएका छन्। आफूले ती संक्रमित युवतीलाई चिनेको बताउँदै खत्रीले युवती नआएको पुष्टि गरे।

‘कोरोनाको सन्त्रास बढ्दै गएपछि चैत ५ गतेदेखि पिङमा मान्छेहरू आउने क्रम घटिसकेको थियो,’ उनले भने,‘ ती युवती यहाँ आएको भन्ने हल्ला मात्रै हो। सबै जनालाई ढुक्क भएर बस्‍न अनुरोध छ।’ ती युवतीका बुवाले उनी विदेशबाट आएपछि घरमै बसेको कहीँ घुमघाम नगरेको दाबी गर्दै आएका छन्।

उनी सीधै घरमा आएर कतै घुम्‍न नगएको परिवारले बताइरहेका बेला जिल्ला प्रशासन कार्यालय पर्वतले पनि ती युवती घुम्‍न आएको हल्ला मात्रै भएको बताएको हो।

महामारीको यो समयमा सजग र सचेत हुनुपर्ने आवश्यकता भएकाले प्रमाणबिनाका हल्ला बजारमा फैलिँदा मानिसहरु थप समस्यामा पर्न सक्ने र सुनेका कुराका पछाडि नलाग्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.