|

धनकुटा : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलावट रोकथाम गर्न धनकुटा  नगरपालिकाले सार्वजनिकस्थलमा संक्रमणरोधी झोल छर्किएको छ। नगरपालिकाले मुख्य बजार क्षेत्र र मानिसको भीडभाड हुने स्थानमा यस्तो झोल छर्किएर संक्रमण रोकथाम कोशिस गरेको हो।

नगरपालिकाले सडकका किनारामा पनि विषाणुरोधी औषधि छर्किएको छ। नगरपालिकाले जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्रमा विषाणुहरू नष्ट गर्न मेडिकल ल्याबमा प्रयोग हुने सोडियम हाइपो क्लोरेटुमा पानी मिसाएर छर्केको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। गर्मी बढेसँगै विषाणु सक्रिय हुने भएकाले निष्क्रिय पार्न औषधि छर्केको उनले बताए।

धनकुटा बसपार्कबाट शुरू भएको औषधि छर्कने काम मदन चोक, चुवाको बोट, हुलाक टोल, परिचयमोड, तल्लो कोप्चे, माथिल्लो कोप्चे, भिमसेन थान, भीमनारायण चोक, नगरपालिका कार्यालय, सल्लेरी, लोकसेवा हुँदै स्कुल डाँडा सम्म पुगेको थियो। यो अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

प्रति १० लिटर पानीमा १६० ग्राम क्लोरिन घोलेर दमकलबाट औषधि छर्किएको नगरपालिकाले जनाएको छ। यसरी औषधि छर्कंदा लामखुट्टे र झिंगा मर्ने तथा संक्रमण फैलने जोखिम कम हुने गर्छ।

औषधि छर्कने क्रममा सडक आसपासका नागरिकलाई लकडाउनुको पूर्णपालन गर्न आग्रह गर्नुका साथै कोराना भाइरसको लक्षण देखिए तुरुन्त स्वास्थ्यसंस्था वा नगरपालिकामा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

वडा प्रवेशका नाका थुन्दै स्थानीय 

यस्तै, कोरना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मोटरसाइकल सहितका सवारीसाधान वडामा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-१ का स्थानीयले वडा पस्ने  विभिन्‍न सडक थुनेका छन्।

महालक्ष्मी नगरपालिका वडा न-१ मारेककटहरे प्रवेश गर्ने चित्रे बजार, आहाले २ नं. वडा र घुमाउनेबाट प्रवेश गर्ने चार ठाउँमा स्थानीय युवाहरुले लकडाउनको समयसम्म बन्द गरेका छन्। 

सरकारले तोकेको लकडाउन निर्वाध मोटरसाइकल र अन्य सवारीकासाधन चलेर मानिस आवतजावत भइरहँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले सडक थुनिएको स्थानीय राजेन्द्र थापाले बताए। कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि सडकमा बाँस राखेर बन्द गरिएको हो।

सडक बन्द भएपछि सवारीसाधन गुडेका छैनन्। अतिआवश्यक काम पर्दा मात्रै अनुमति लिएर सडकको ढाट खोलिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.