|

  • बिदुर कटुवाल

उदयपुर : त्रियुगा नगरपालिका ३ की लिला विकका छोरा ४ वर्षे मिर्गौैला पीडित छोरा किसन विकको उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको छ। दुबै मिर्गौला खराब भएका ४ वर्षे बालक किसनको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको जिल्ला बाल हेल्पलाईन उदयपुरकी अध्यक्ष गंगा राईले बताइन्। 

थाहाखबर डटकममा लिला विकको अनुरोध :श्रीमान् बित्‍नुभयो, मिर्गौला रोगी छोरा बचाई दिनुस शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको राइले जानकारी दिइन्। ‘थाहाखबर डटकमबाट समाचार प्रकाशन भएपछि सहयोग गर्नेले मेरो नम्बरमा सम्पर्क गर्ने र बिरामी बच्चाको डकुमेन्ट माग्‍ने गरेका छन्,’ अध्यक्ष राईले भन‍िन्,‘सहयोगको लागि सिभिल बैङकको गाईघाट शाखामा बच्चाका आमा लिला विक र मेरो नाममा संयुक्त खाता खोलेका छौ। खाता नम्बर ०२६१००९१५७४०२८ रहेको छ।’

समाचार पढेपछि चितवन जिल्ला घर भै हाल अष्ट्रेलियमा अध्यनरत विद्यार्थी प्रदिप सुवेदीले केही दिनभित्र सकेको रकम पठाउने बताएका छन्। अध्यक्ष राईका अनुसार साउदीमा कार्यरत नेपालीको एक संस्थाले पनि सहयोगको लागि बच्चाको डकुमेन्ट मागेको छ। ‘मलाई फोनमा साउदीबाट नविन योगीले नेपालीहरुको मिर्गौला रोगीलाई सहयोग गर्ने एक संस्था भएको भन्दै डकुमेन्ट माग्‍नु भएको छ।’ राईले भनिन्,‘उहाँहरुले दिएको इमेलमा तत्काल नै डकुमेन्ट पठाइएको छ। केही दिनभित्र खातामा पैसा जम्मा गरिदिने वचन दिनुभएको छ।’

रोगी बच्चाकी आमा लिला विकले छोराको उपचार गर्न सहयोग गर्ने वचन दिएर फोन गर्नेहरु धेरै भएको बताइन्। ‘पैसा समेत जम्मा भैरहेको छ,’ उनले भनिन्,‘जिल्ला बाल कल्याण समितिले शुक्रबार ५ हजारको चेक दिएको छ। अन्यले बैङक खातामा पैसा जम्मा गरिदिने भएका छन् छोराको उपचार हुने आशा जागेको छ।’

दयनीय आर्थिक अवस्था भएकी लिलाले मिर्गाैला रोगी छोरा किसन विककोे उपचारका लागि खर्च अभाव भएकाले सहयोगको अपिल गरेकी थिइन्। उपचारको लागि किसानलाई लिएर आमा लिला विभिन्‍न सरकारी कार्यालय तथा संघ–संस्था धाइरहेकी छिन्।

बाल हेल्प लाइनमा दिएको निवेदनको आधारमा जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक सहयोग जुटाउन थालेका छन्। मिर्गौला पीडित ४ वर्षे  बालक किसन विकलाई आर्थिक सहयोगका लागि  आमा लिला विकको सम्पर्क नम्बर ९८०५९६४०६७ वा बाल हेल्प लाइन उदयपुरकी अध्यक्ष गंगा राई ९८५२८३५८०३ मा सम्पर्क गर्न सकिने छ। त्यस्तै सिभिल बैंकको गाइघाट शाखामा रहेको लिला विक र गंगा राईको संयुक्त खाता (खाता नम्बर ०२६१००९१५७४०२८) मा सिधैं रकम जम्मा गर्न पनि मिल्छ। 

निम्‍न वर्गीय आर्थिक अवस्था 
ज्याला मजदुर गरेर दुई छाक टार्दै आएकी लिलाले छोराको उपचार गर्न नसकेपछि जिल्ला बाल हेल्पलाइनको कार्यालयमा सहयोगको याचना गरेकी थिइन्। गएको वर्ष टिबि रोगको उपचार गर्न नसकेर श्रीमान गुमाएकी लिलाले गाइघाट खोलाको बगरमा ५ धुर ऐलानी जग्गाको घर पनि नबिकेको बताएकी छिन्। उनका आफन्तको समेत आर्थिक अवस्था कमजोर छ।

गएको भदौमा छोराको पेट सुनिन थालेपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा जिल्ला अस्पतालले मुटुको रोग लागेको बतायो। त्यसपछि छोरा किसानलाई उपचारका लागि काठमाडौंको गंगालाल हृदय रोग निवारण केन्द्र लैजान जिल्ला अस्पतालले आग्रह गरेको थियो। गंगालालमा चेकजाँच गरेपछि समस्या मुटुको नभएर मिर्गौलाको भएको पत्ता लागेको लिलाको भनाइ छ।

गंगालले मिर्गौलाको उपचारका लागि कान्ति बाल अस्पताल रिफर गर्‍‍यो। तर कान्ति बाल अस्पतालले मागेको खर्च लिलाले तिर्न सकिनन्। गाइघाट फर्किएर उनले छोरालाई विराटनगरस्थित नोबेले मेडिकल कलेज भर्ना गरिन । अहिले यही अस्पतालमा छोरा किसनको  उपचार भैरहेको छ। नोबेलमा उपचार गर्ने क्रममा ४६ हजार रुपैयाँ खर्च भैसकेको छ। किसनको स्वास्थ्यमा सुधार आएको छैन।

यो पनि पढ्नुहोस् : 

लिला विकको अनुरोध : श्रीमान् बित्‍नुभयो, मिर्गौला रोगी छोरा बचाई दिनुस् 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.