कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा आएकाको पनि स्वाब परीक्षण गर्ने तयारी

|

बलेवा : बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन्। शनिबार बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा एउटै जहाजमा आएकाको स्वाब परीक्षणका लागि तयारी थालिएको हो।

स्वास्थ्य मन्त्रालयले काठमाडौंबाट आवश्यक सुरक्षा सामग्रीसहित सम्भावित चेकजाँचका लागि दुई जना विशेषज्ञलाई बागलुङ पठाएको छ। एक सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), स्यानिटाइजर र मास्कसहित विशेषज्ञ टोली बागलुङका लागि हिँडेको हो।

डा.झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहानसम्म बागलुङ आइपुग्ने मन्त्रालय स्रोतले जनाएको छ। ‘टोली बागलुङ पुगेपछि त्यहाँका चिकित्सकसँग छलफल गरेर आवश्यक सबैको परीक्षणका लागि नमुना संकलनको काम हुनेछ’ मन्त्रालय स्रोतलाई उदृत गर्दै प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भने, ‘जोखिममा रहेकाहरूको अवस्था हेरेर जाँच गर्नुपर्छ भन्ने छ।’ 

यता, प्रादेशिक स्वास्थ्य निर्देशनालयले संक्रमित युवतीको परिवार र सम्पर्कमा रहेकाहरूमा कोरोनाको संकेत देखिएमा परीक्षणका लागि नमुना संकलनका लागि तयारी थालेको छ। निर्देशनालयले आइतबार धौलागिरी अञ्चल अस्पतालका लागि एक थान भेन्टिलेटर, २५ थान पिपिई र २५ थान किट बागलुङ पठाएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए। 

‘अस्पतालमा भेन्टिलेटरको अभाव हुन नदिन एक थान भेन्टिलेटर पठाइयो’ उनले भने, ‘संक्रमितको सम्पर्कमा रहेकाहरूमा सिमटम देखापरे नमुना संकलनको लागि सामग्री तयार छ।’ उनले प्रदेशले पठाएको सामग्रीको प्रयोग गरेर बागलुङमै रहेका प्राविधिकले नमुना लिन सक्ने बताए। क-कसको नमुना संकलन गर्ने भन्ने विषयमा जिल्लामै रहेका चिकित्सक तथा सरोकारवालाको बैठकले निधो गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.