|

पर्वत : कोरोना संक्रमण भएको पुष्टि भएकी बाग्लुङकी युवतीसँगै जहाजमा यात्रा गरेका पर्वतका एक युवकलाई आइसोलेसनमा राखिएको छ।

जलजला गाउँपालिका–७ धाइरिङका ती युवकले बाग्लुङकी युवतीसँगै यति एयरको विमानमा यात्रा गरेको र यात्राको दुई दिनपछि ज्वरो आउनुका साथै अहिले पनि रुघाखोकी लागिरहेको पाइएको छ। गत चैत्र ५ गते दिउँसो पौने एक बजे यति एयरको ६७९ नम्बरको उडानबाट पर्वतका ती युवक बाग्लुङकी युवतीसँगै काठमाडौँबाट पोखराबाट आएको पाइएको छ।

घर फर्किएको दुई दिनमा ज्वरो आएपछि उनले सिटामोल किनेर खाएका थिए। युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि मात्रै ती युवकले समेत आफैँलाई पनि संक्रमण भएको हुन सक्ने शङ्का गरेका थिए। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले युवकमा देखिएका लक्षणहरू कोरोनाको लक्षणसँग मिल्ने भएको र उनको अहिलेको अवस्था सामान्य रहेको बताए। 

‘उहाँ मसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ। उहाँको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ।.,’ उनले भने, ‘तत्कालका लागि उहाँलाई घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ।’ 

शंका गरिएका ती युवक गाउँमा फर्किएपछि घरमै भएको श्राद्धमा सामेल भएका पाइएको छ भने त्यो श्राद्धमा छिमेकी र इष्टमित्र समेत गएका थिए। जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्लले ती युवक गाउँमा समेत डुलेको   पाइएको र स्वास्थ्यकर्मीको सल्लाहअनुसार तत्कालका लागि आइसोलेसनमा रहेको बताए। युवकलाई घरमै पुगेर भेटका कुस्मा नगरपालिका–७ का उनका एकजना आफन्तलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ। उनलाई कुस्मा नगरपालिका–६ स्थित शिवालय माविको क्वारेन्टाइनमा राख्ने तयारी भएको वडा नम्बर ६ का वडाध्यक्ष रुद्र गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.