|

बैतडी : कोरोना भाइरस (कोभिड–१९)को शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पुर्याउन बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। सात स्थानीय तहका आठ, जिल्ला अस्पतालका दुई र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको एउटा एम्बुलेन्स रहेका छन्। 

जसमा दशरथचन्द नगरपालिकाका दुई, दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर गाउँपालिका तथा मेलौली र पुर्चौडी नगरपालिकाको एक एकवटा एम्बुलेन्स तयारी रहेका हुन्। कोरोना संक्रमित वा शंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था गरिएको उनको भनाइ छ।

कोरोना संक्रमित बोक्न एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले पनि बताए। सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले बताए। चालकलाई सुरक्षित गर्न पञ्जा र मास्कलगायतका सामग्री प्रदान गरिएकोे छ। उनले भने, ‘एम्बुलेन्समा  चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरी कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका हुन्।’

बैतडीमा अहिलेसम्म कोरोनाको संक्रमण कसैमा पनि नदेखिए पनि बिरामी देखिएको खण्डमा तत्काल उद्धार तथा उपचार गर्नका लागि सम्पूर्ण तयारी गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। भारत तथा अन्य मुलुकबाट काम गरेर आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेर दैनिक जाँच गरिन थालिएको छ। 

कीटनाशक औषधि छर्कने सुरु

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका बैतडीमा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरिएको छ। दशरथचन्द नगरपालिकाको समन्वयमा सुुरु भएको अभियानमा पहिलो दिन सदरमुकास्थित गढी र गोठलापानीमा छर्किएको बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो। शाहीलेकलगायतका अन्य बजारमा सोमबार कीटनाशक औषधि छर्किने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

आवतजावत र फोहरका कारण भाइरस फैलिएको हुन सक्ने र जसका कारण संक्रमण फैलिने जोखिम हुँदा पूर्वसतर्कताका लागि औषधि छर्किएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.