|

तनहुँ : कोभिड–१९ को संक्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाका बजार क्षेत्र र विभिन्न टोलमा किटनाशक औषधि छर्किन शुरु गरिएको छ। स्थानीय युवाका साथै टोल विकास संस्थाको सक्रियतामा बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको हो। 

बढी भीडभाड हुने ठाउँमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका ४ स्थित व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। तरकारी लाइन, पराशर टोल, महर्षिटोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्कने तयारी गरिएको बताए। ‘बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन थालेका छौं,’ उनले भने।

दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतका युवाको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका ३ का वडा सदस्य रवीन पौडेलले बताए। औषधि छर्किनका लागि युवाहरू प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिएका छन्।

सोडियम हाइड्रोक्लोराइडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको संक्रमण नहुने बताइएको छ। यसैगरी व्यास नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ। त्यस्तै व्यास नगरपालिकाभित्रका विभिन्न वडाका टोल विकास संस्थाले कोरोनाको संक्रमण न्यूनीकरणका लागि किटनाशक औषधि छर्किने कार्यलाई प्रभावकारी बनाउँदै आएका छन्।

व्यास १ को ठूलोगाउँ टोल विकास संस्था, दमौली टोल विकास संस्था, हाइस्कुलटार टोल विकास संस्थाले आफ्नै लगानीमा किटनाशक औषधि खरिद गरी छर्किने काम गरिएको ठूलोगाउँ टोल विकास संस्थाका कोषाध्यक्ष बिरबहादुर दरैले बताए। अन्यले टोल विकास संस्थाहरूले आइताबारदेखि छर्किएको र आफ्नो टोलमा सोमबार छर्किएको दरैले बताए।

‘हामीले गरेको सानो प्रयासले टोलवासीको ज्यान बचाउन सकिन्छ भनेर किटनाशक औषधि खरिद गरी छर्किएका हौं। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति धेरै हुँदा स्थानीय त्रसित छन्। होम क्वारेन्टाइनमा बसेको भन्दै बाहिर हिड्दा संक्रमण फैलिने डर बढेको पाइएको छ’ ठूलोगाउँ टोल विकास संस्थाका अध्यक्ष स्टार दरैले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.