|

केशव अधिकारी 

धादिङ : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उपचारमा जुटेका धादिङ जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा औजारको कमी भएको गुनासो गरेका छन्। जिल्लाको दुई नगरपालिका र ११ वटा गाउँपालिकाका स्वास्थ्यकर्मी यतिबेला कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुटेकाछन्।

आइतबार साँझ सम्ममा जिल्लाभरका चार ४८ जना स्वास्थ्यकर्मीलाई  एकसय ९१ थान व्यक्तिगत सुरक्षा औजार (पिपिई) उपलव्ध भएको उनीहरुले बताएका छन्।कोरोना भाइरसको संक्रमित बिरामीको जाँच र हेरचाहमा खटिने स्वास्थ्यकर्मी वा सहयोगीले अनिवार्य रुपमा लगाउनुपर्ने पिपिईको कमी हुँदा स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य भएको नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष बोधप्रसाद नेपालले बताए।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा औजारको कमी भएको बताइरहे पनि स्थानीय तहका जनप्रतिनिधि र  स्वास्थ्य शाखाका संयोजकहरू भने कोरोना भाइरसबाट बच्‍न र बचाउन आवश्यक पर्ने व्यक्तिगत सुरक्षा औजार, औषधि, क्‍वारेनटाइनमा आवश्यक पर्ने बेडलगायत सामग्री जुटाउन र प्रचार प्रसारमै व्यस्त देखिने गरेको स्वास्थ्यकर्मीको गुनासो छ। 

कोरोना भाइरस माहामारीका रुपमा विश्‍वभर फैलिएपछि उच्च शिक्षा हासिल गर्न, रोजगारी तथा व्यवसायका लागि नेपाल बाहिर गएका अहिले थाकथलो आउने क्रम बढ्दै गएको छ। भारतलगायत अन्य देशबाट मानिस गाउँ फर्कने क्रम बढेसँगै संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी संघीय सरकारको निर्देशन अनुसार धादिङका १३ वटै स्थानीय तहले क्‍वारेनटाइन बनाएकाछन्। केही स्थानीय तहमा आइसोलेसन वार्डको पनि स्थापना गरिएको छ। 

जिल्लामा १३ स्थानीय तहको तीन सय ५९ र सुरक्षा निकायले ८० गरी ४४  स्थानमा चार सय ३९ वेड क्‍वारेनटाइन बनाइएको छ। आइतबारसम्म क्‍वारेनटाइनमा बस्नेको संख्या ४६ पुगेको छ।  विदेशबाट आउनेको संख्या यकिन नभएको र आएकाहरू पनि निजी क्‍वारेनटाइनमा बस्ने भन्दै घर गएपछि उनीहरूको उपस्थितिले गाउँले त्रसित हुन थालेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए।

होम क्‍वारेन्टाइनमा बस्नेले आत्मअनुशासन तोडिदिने हो भने  भोलि घर परिवार र समाजले समेत ठूलो क्षति व्यहोर्नुपर्ने भएकाले उनीहरू बेलैमा सचेत हुनुपर्ने रिजालको सुझाव छ। जिल्लाको सबैभन्दा विकटमा रहेको रुवीभ्याली गाउँपालिकाले तीनवटा विद्यालयमा २८ वटा र एउटा स्वास्थ्य संस्थामा चार गरी ३२ बेडको क्‍वारेनटाइन बनाएको छ।

अहिलेसम्म क्‍वारेनटाइनमा बस्ने कोही पनि छैनन्। स्वास्थ्यकर्मी र सहयोगी गरी ३३ कर्मचारीलाई २० वटा साधारण एप्रोन रहेको स्वास्थ्य संयोजक राजबहादुर तामाङले बताए। 

खनियावास गाउँपालिकामा कार्यरत कर्मचारीलाई लगाउने पिपिई र ज्वरो नाप्ने डिजिटल थर्ममिटर नभएको र १४ जना स्वास्थ्यसम्वन्धी कर्मचारीलाई पाँच थान पिपिई रहेको पालिकाका स्वास्थ्य संयोजक आइत बहादुर तामाङले बताए।

पालिका भित्रिने नाकाहरु लक गरिएको र आएकाको पनि ज्वरो नापेर गाउँ प्रवेश गराइएको र चार स्थानमा २० वेडको क्‍वारेनटाइन तयारी अवस्थामा रहेको संयोजक  तामाङले जानकारी दिए। यसैगरी कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान भएको नेत्रावती डवजोङ गाउँपालिकाले २५ वेडको क्‍वारेनटाइन तयार गरेको छ। ११ जना स्वारेनटाइनमा बस्दै आएकाछन्।

कतारबाट आएका एकजनासहित ३ जना र सुनौलीबाट आएका ४ जनालाई धादिङवेशीस्थित क्‍वारेनटाइनमा राखिएको छ। जिल्लाकै गजुरी गाउँपालिकामा रोजगारीमा गएर फर्केकालाई एउटा विद्यालयमा सेल्फ क्‍वारेन्टाइनका रुपमा राखिएको छ।

१४ जना स्वास्थ्य कर्मी र सहयोगीलाई सात थान पिपिई रहेको स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले बताए। यसैगरी गंगाजमुना गाँउपालिकामा ५० वेड क्‍वारेनटाइन तयार गरिएपनि एक जना पनि बसेका छैनन्।

४८ जना स्वास्थ्यकर्मी र सहयोगीलाई २५ थान साधारण किसिमको पिपिई रहेको स्वास्थ्य संयोजक दिपककुमार अधिकारीले बताए। त्रिपुरासुन्दरी गाउँपालिका पालिकास्तरमा २० वेड र वडास्तरमा ३५ वेड क्‍वारेनटाइन तयार गरेको तर अहिलेसम्म कोही नबसेको र पाँच वेडको आइसुलेसन वेड तयार पारेको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताए।

६० जना कर्मचारीलाई २५ सेट पिपिई छ। भारत सहितका अन्य मुलुकबाट आउने ३६ जना गाउँपालिकाको सम्पर्कमा रहेको र उनीहरूलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेको स्वास्थ्य संयोजक श्रेष्ठले बताए। यसैगरी ज्वालामुखी गाउँपालिकाले १८ वेडको क्‍वारेनटाइन बनाए पनि अहिलेसम्म कोही बसेका छैनन।

४० जना कर्मचारीलाई २८ थान पिपिई उपलव्ध छ। भारत सहितका देशहरुबाट आउने ७२ जना मानिस होम क्‍वारेन्टाइनमा बसेका छन्। अरुको पनि पहिचान गर्ने काम भईरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए। जिल्ला सदरमुकाम समेत रहेको निलकण्ठ नगरपालिकाले ३५ वेडको क्‍वारेनटाइन बनाएको छ। १८ जना मानिसलाई क्‍वारेनटाइनमा रोखेको छ।

१० जना नीलकण्ठ नगरपालिका ६ का हुन भने आठ जना नेत्रावतीडवजोङ गाउँपालिकाका हुन्। ४४ जना कर्मचारीलाई ३४ थान पिपिई उपलव्ध छ। यसै नगरपालिका पर्ने खुलामञ्चमा सुरक्षा निकायले टेण्ट गाडेर ८० वेडको क्‍वारेनटाइ बनाए पनि त्यहाँ अहिलेसम्म एकजना पनि बसेका छैन। सदरमुकाम नजिकै रहेको सिद्धलेक गाउँपालिकामा १० बेडको क्‍वारेनटाइन बनाइएको छ।

१८ जना कर्मचारीलाई एक थान पनि पिपिई नभएको स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले बताए। विदेशबाट कति आए त्यसको लेखाजोखा राख्न पहिचान गर्ने काम भइरहको सिलवालले बताए। बेनीघाट रोराङ गाउँपालिकाले भाइरस र किट मार्न पृथ्वी राजमार्गमा क्लोरिन झोल स्प्रे गरेको छ।

३२ वेडको क्‍वारेनटाइनमा २ जना बसेका छन्। ३४ जना कर्मचारीलाई १५ सेट पिपिई उपलव्ध रहेको स्वास्थ्य संयोजक शंकरवावु दुवाडीले बताए। गजुरी गाउँपालिकाले किट र भाइरस मार्न क्लोरिन झोल सडकमा स्प्रे गर्ने तयारी गरेको छ। २० वेडको क्‍वारेनटाइन बनाएको छ। तर एक जना पनि बसेका छैनन्। ७ जना विदेशबाट आएकाहरू निजी घरमै क्‍वारेनटाइनमा बसेको स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताए।

‘४५ जना स्वास्थ्य कर्मचारीलाई १० सेट पिपिई उपलव्ध छ। १५ थान ग्राउन, चश्मालगायतका सामग्री पनि व्यवस्था गरेका छौं’  डाक्टर रेग्मीले जानकारी दिए। 
 गल्छी गाउँपालिकाले २५ वेडको क्‍वारेनटाइन बनाएकोमा १८ जना बसेकाछन्। ४३ जना कर्मचारीलाई २७ थान पिपिई उपलव्ध भएको स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले बताए।

थाक्रे गाउँपालिकाले ३२ वेडको क्‍वारेनटाइन बनाएकामा एक जना पनि बसेका छैनन्। भारतीय नागरिक आठ जनासहित २३ जनालाई होम क्‍वारेनटाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। ४७ जना स्वास्थ्य सम्वन्धी कर्मचारीलाई पाँच थान पिपिई र ३० थान गाउन उपलव्ध भएको स्वास्थ्य संयोजक रविन्द्र पाण्डेले बताए।

काठमाडौंसँग सिमाना जाडिएको धुनीवेशी नगरपालिकाले ५२ वेड क्‍वारेनटाइन बनाएको छ। तर अहिलेसम्म कोही बसेका छैनन्। विभिन्न देशबाट फर्केका १९ जना नीजि क्‍वारेनटाइनमा बसेको स्वास्थ्य संयोजक ध्रुवकुमार अधिकारीले बताए।

४२ जना स्वास्थ्यकर्मी र सहयोगीलाई १४ थान पिपिई उपलव्ध गराएका छौं। अरुका लागि पनि उपलव्ध गराउने तयारी भइरहेको अधिकारीले बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.