|

काठमाडौं : कोरोना संक्रमण फैलन नदिन यतिखेर देशभर 'लकडाउन' गरिएको छ। मानिसहरू घरभित्रै सीमित भएका छन्‌। 'लकडाउन' पालना गरी घरमै बसिरहेका मानिसहरू समय कटाउन विभिन्न उपायहरू खोजिरहेका छन्‌।

बाहिर पनि निस्कन नमिल्ने, घरमा समय बिताउन पनि मुस्किल हुने! यो बेला के गर्ने त? सम्भवत: अधिका‌ंश मानिसहरू यतिखेर फिल्म र पुस्तकमा भुलिरहेका छन्‌। कैयौं मानिसहरूको रूची लेखनमा पनि अवश्य छ। तर लेखलाई पठनीय कसरी बनाउने त?  साहित्यकार बुद्धिसागरले लेखनबारे सुझाव दिँदै आएका छन्‌। 

राम्रो लेख्नका लागि सुझाव माग्ने साथीभाईलाई बुद्धिसागरले १० बूँदे सुझाव दिने गरेका छन्‌। 'लकडाउन' मा बसिरहेका बेला समय सदुपयोग गरी आफ्नो लेखकीय क्षमता विस्तार गर्न तपाइँ-हामीलाई पनि बुद्धिसागरले यी सुझाव उपयोगी हुन सक्छन्‌ :

१. सबैभन्दा पहिला ’लेख्नू किन परेको?’ भनेर सोच्नुस्। कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यसले दुःख बाहेक अर्को केही दिँदैन। यदि साँच्चै नै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै बिषय छैन। पाउलो कोएलो भन्छन्- 'हरेक मानिससित आफ्नो छिमेकीलाई भएपनि सुनाउने एउटा शानदार कथा हुन्छ।' आफूसँग पनि त्यस्तो कुनै कथा छ भने सुरूवात गरिहाल्नुस्।

२. प्रा.डा. डिपी भण्डारी भन्नुहुन्छ-'लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ।' शैली श्रमले बन्दैन। आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस्। आफूभित्रको सर्जकलाई पागलपन दिनुस्। लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाई आफ्नो शैली निर्माण गर्दै हुनुहुन्छ।

३. पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दे समय घर्किन सक्छ। मार्खेज भन्छन्-'पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ।' तर, मलाई लाग्छ- प्रायः पुस्तकले पहिलो हरफ बीचतिरबाट पाउँछ। लेख्दै गएपछि, जब पुस्तकले एउटा आकार पाउँछ : त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ। धेरै लेखकहरु पहिलो खण्ड पुस्तकको बीचतिरबाट निकालेर अगाडी राख्छन्। त्यसैले शक्तिशाली शुरूवातको चिन्ता शुरूमै नगर्नुहोला।

४. लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरू लेखकका प्रकाशित भईसकेका कृतिसित नदाज्नुस्। किनभने, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ। हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन्। ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ। त्यसैले अनेकपल्ट पुर्नलेखन गरेर छापिएका कृतिका अगाडी आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ।

५. आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस्। धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो बिषय नै आफैँलाई पनि दिक्क लाग्दो लाग्न थाल्छ र, कहिलेकाही सुन्ने मान्छेको मुहारमा तपाईंले खाजेको उत्साह पनि नभेटिन सक्छ, जस्ले तपाईलाई निरास बनाउन सक्छ। लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसरकुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन।

६. लेख्न शुरू गरेपछि कहिले सकिएला भनेर नआत्तिनुस्। छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउला, तर थकान र दिक्क लाग्ने हुन थाल्छ। जव रफ्तार रोकिन्छ : फेरि शुरूवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इन्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो। त्यसैले हरेक दिन लेख्नुस्, तर थोरै-थोरै लेख्नुस्। प्रायः लेखकहरु दिनमा २५० शब्ददेखि १,००० शब्द लेख्छन्। कापीमा हो भने एकदुई अनुच्छेददेखि तिनपन्नासम्म। हारुकी मुराकामी १,००० शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तिन पान्ना! सगरमाथा चढ्नेहरु दर्गुदैनन् तर एक-एक कदम गरेर चुचुरोमा पुग्छन्।

७. लेखनमा सबैभन्दा ठूलो कुरा अनुशासन हो। अनुशासन बिनाको प्रतिभा फक्रिन सक्दैनन। हरेक दिन लेख्छु भनेर बाचा गर्नुस् र त्यो बाचालाई पुरा गर्नुस्। चौविस घन्टामा आफूलाई पायक पर्ने कुनै एकघन्टा छुट्याउनुस्। र, त्यो समयमा मूड चलोस् या नचलोस्, लेखिरहनुस्। केही पनि फुरेन भने आफ्नै नाम नै भएपनि लेखिरहनुस्। बिस्तारै तपाईले छुट्टाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ।

८. किताव एकतिहाइसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु? मलाई लाग्छ - हरेक पुस्तकले आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ। र, प्रायः लेखकहरु बीचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडीबाट मिलाउँदै ल्याउछन्।

९. दिनदिनै लेख्दा आउने समस्या के हो भने अघिल्लो दिनको जस्तो भावना र उर्जा अर्को दिन नहुनसक्छ। आज के बाट शुरू गरौं भनेर लामो समय टोलाउनु पर्ने हुन्छ। त्यसैले अघिल्लो दिन मनमा आएजतिका कुरा सबै नलेख्नुस्। अलिकति भोलीपल्टलाई बाँकी राख्नुस्। भोलीपल्ट मनको बाँकी कुरा लेख्नु भयो भने अरू आफैँ थपिदै जाने सम्भावना हुन्छ। संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस्। हरेकदिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस्। मलाई लाग्छ- तपाईंले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्यूजिकजस्तो हुँदै जान्छ। जब संगीत सुन्नुुहुन्छ-संगीतले नै कथाको संसारमा पुर्‍याइदिने सम्भावना पनि हुन्छ।

१०. स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्व नै हुन्छ। खानपीन र हिँडडुलमा ख्याल राख्नुस्। खानामा गड्बडी र कम शारीरिक अभ्यासले ग्यास्ट्रिक जस्ता रोग निम्त्याउँछन्। पोलिरहेको छाती वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ। सकेसम्म हिँडाइलाई महत्व दिनुस्। हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाही अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाइका क्रममा आउँछन्। पाइतालाको रफ्तारले दिमागका बन्द चेपहरू खुल्छन् भन्ने मलाई लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.