|

दार्चुला : दार्चुला जिल्लाको सिमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ।

नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धारचुला क्षेत्रमा रहेका करिब ५ सय नेपालीलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो।

नेपाल र भारतमा लक डाउन नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले जानकारी दिए।

धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीलाई पाँच ठाउँमा राखिने छ। धारचुला क्षेत्रमा रहेको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिने उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले बताए। आज भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालमा नेपालीलाई राखिने छ।

पटक पटक अनुरोध गर्दा नि नेपालले सुनेनः उपजिल्ला अधिकारी 

उपजिल्ला अधिकारी सुक्लले नेपाल सरकारका प्रतिनिधिलाई पटक पटक नेपालीलाई आफ्नो देश लैजान आग्रह गर्दा पनि नसुनेको बताएका छन्। उनीहरूमा आफ्नो देश र परिवारसँग बस्ने उत्कट इच्छा देखिएको भए पनि नेपाल सरकारले उनीहरूको समस्या सम्बोधन गर्न नसकेको तर आफूहरूले नेपालीको खाने, सुत्ने र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको जानकारी गराएका छन्।

नेपाल सरकारले चाँडै आफ्नो नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सके आफू समन्वय गर्न तयार रहेको उनी बताउँछन्। ‘कोरोनाको प्रकोप यता देखियो भने नेपालीभन्दा भारतीय नै प्राथमिकता पर्ने भएकाले नेपालीलाई नेपाल मै व्यवस्था गर्नु उचित हुन्छ’ उपजिल्ला अधिकारी सुक्लले भने।

लक डाउन भनेको जो जहाँ छ, त्यही बस्ने होः प्रजिअ पौडेल

नागरिकले लक डाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर धारचुलामा जम्मा भएको बताउँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकलाई संयमित भएर घरमा बस्न आग्रह गरेका छन्।

भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीले पनि जहाँ छ त्यही बस्नु पर्ने र उनीहरूको व्यवस्था भारत सरकारले गर्ने प्रजिअ पौडेलले बताए। ‘लक डाउन भनेको आवागमन बन्द गर्नु हो। भारत र नेपाल कही पनि आवतजावत गर्न पाइँदैन’ प्रजिअ पौडेलले भने।

तरेर आउने तीनजना सम्बन्धित पालिकाको जिम्मा

नेपाल-भारत जोड्ने पुल नखोलिएपछि दिउँसो महाकाली नदीमा पौडेर आएका तीन जनालाई उनीहरूको पालिकाको जिम्मा लगाइएको छ। सोमबार दिउँसो बैतडी डिलाशैनीका इन्द्रसिह खाती र धनबहादुर धामी तथा दार्चुला मार्मा गाउँपालिका ३ का रमेश बिस्ट महाकाली तरेर दार्चुला प्रवेश गरेका थिए। उनीहरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको प्रजिअ पौडेलले बताए। ‘१४ दिन क्वारेन्टाइनमा सर्तसहित उनीहरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको छ’ उनले भने।

प्रहरी चौकीमा ढुंगा प्रहार र आपसमा झगडा

धारचुलामा रहेका नेपालीले पुल नखोलेको भन्दै दिउँसो पुल क्षेत्रमा नेपालतिर रहेको प्रहरी चौकीमाथि ढुंगा प्रहार गरेका थिए। महाकाली पारीबाट ढुंगा हान्ने र गाली गर्ने काम निरन्तर भएपछि भारतीय प्रशासनलाई त्यसको जानकारी दिएर साम्य पार्न लगाइएको थियो।

नेपालको प्रहरी चौकीमाथि ढुंगा हान्ने र नहान्ने दुई समूहमा नेपाली विभाजित भएको र सोही विषयलाई लिएर आपसमा झगडा समेत भएकाले स्थिति नियन्त्रणमा लिन एसडिएम समेत घटनास्थलमा आउनु परेको धारचुलाका स्थानीय पत्रकार राकेश तिवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.