काेराेना संक्रमित युवतीले अन्यलाई पनि सारेकाे आशंकामा गाउँ नै त्रसित

|

बागलुङ : जिल्लाको अवस्था कस्तो छ ? तयारी के के हुँदैछ ? भैपरी आयो भने हामीलाई सघाउने कोही छ? सर्वसाधारणबाट आउने प्रश्नहरुको सामना गर्न सरोकारवालाहरुले  प्रक्रिया पुर्‍याउन  धेरै काम गरेका छन्। तर, मन्त्रालय तथा विभागहरुका निर्देशका आधारमा बनेका विभिन्न समिति तथा समूहरुको देखिने काम भने खोज्दै हिँड्नुपर्ने अवस्थामा छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देश नै लकडाउन गरेपछि बागलुङमा पनि जोखिम न्यूनीकरणका काम भएका छन्। 
प्रत्येक स्थानीय तहमा क्‍वारेनटाइन निर्माण भएका छन्। तर, स्थानीय सरकारहरुले बनाएको क्‍वारेनटाइनमा कोही पनि बसेको छैनन्। ‘विदेशबाट आएकाहरुलाई घरमै क्‍वारेनटाइनमा बस्न भनिएको छ, यसका लागि घरघरै पुगेका छौँ’,  काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘क्‍वारेनटाइनमा कोही गएको छैन।’ जिल्लाको समग्र बस्तुस्थिति विषयमा जानकारी संकलन  गरिरहेको ‘र्‍यापिड रेस्पोन्स’ टिमका संयोजक सुरज गुरौले सार्वजनिक गरेको तथ्यांकमा पनि अहिलेसम्म स्थानीय तहले निर्माण गरेको क्‍वारेनटाइनमा कोही पनि छैनन्। 

कोरोना संक्रमित युवतीका कारण गाउँ नै त्रसित 

बेल्जियमबाट कतारको बाटो हुँदै काठमाडौं र त्यहाँबाट पनि जहाज, ट्याक्सी र जिपको सहायतामा बागलुङ आएकी एक युवती संक्रमित रहेको पुष्टि भयो। उनी संक्रमण पुष्टि हुनेबेलासम्म पनि गाउँ डुल्दै थिइन्। उनकै छिमेकीले दिएको जानकारी अनुसार होम क्‍वारेनटाइनमा बसेकी भन्ने हल्ला मात्रै हो। उनी कहाँ कहाँ गइन् ? ककस्लाई भेटिन भन्ने विषयमा चैतको ४ गतेदेखि शनिबार रातिसम्मको अवस्थाको विषयमा बल्ल सामान्य खोजी सुरु भएको छ। 

‘हामी ट्रेसिङ गर्दैछौँ’ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ भन्छन्, ‘लसपस भएकाहरुलाई क्‍वारेन्टाइनमा बस्न भन्छौँ।’ उनीसँगै एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवालाई त उनी गाउँमै छन् भन्ने मात्रै खोजियो। ढोरपाटन नगरपालिकाले क्‍वारेनटाइन बनाएको छ। उनलाई आवश्यक ठानेको भए कम्तीमा १४ दिन त्यहाँ राख्न सकिने बताउँछन् स्थानीय।  

कुँडुलेकी युवतीमा संक्रमण देखा परेपछि घर आएको १२ दिनपछि मात्रै उनको नमुना संकलन भयो। सरोकारवालाले समयमा चासो नदिने र जिम्मेवारी पूरा नगरेका कारण समस्या बढ्नेमा सर्वसाधारण सशंकित रहेका छन्। ‘विदेशबाट आएकालाई मात्रै १४ दिन क्‍वारेनटाइन राखेर परीक्षण गर्न सकेको भए हामी डराउनुपर्ने थिएन’, बागलुङ नगरपालिका–१४ का लालप्रसाद शर्मा भन्छन्, ‘खै के के बनाइम् भन्छन सुरक्षित केही गर्दैनन्।’

कमान्ड पोस्ट प्रभावकारी नभएको गुनासो 

गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा काठमाडौंको निर्देशनमा जिल्लामा कोरोना नियन्त्रणका लागि कमान्ड पोस्ट बनेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहेको पोस्टमा जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधिहरु छन्। यो पोस्टको काम के भैरहेको छ भन्ने बिषयमा आमसर्वसाधारणलाई जानकारी नै छैन्। 

‘अनुगमन, ट्रेसिङ, सुरक्षालगायत जिम्मेवारी यो पोस्टलाई छ’, एक सदस्यले भने, ‘बैठक बसेर माथिका निर्देशनहरुको पालना गर्ने काम मात्रै भएको छ।’ जिल्लामा धेरै मानिसहरु वैदेशिक रोजगारीबाट फर्केका छन्। उनीहरुको तथ्यांक अध्यावधिक गर्ने काम स्थानीय तहहरुले अझै सकेका छैनन्। 

‘विदेशबाट आएका साथीहरु कृपया एकान्तबासमा बसिदिनुहोला’, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘बाँचे हजुरहरुले ल्याएका चकलेट खाम्ला, फेरि रमाम्ला।’ तर उनैले बनाएको भीमसेन माविको क्‍वारेनटाइन भने बनाउँदाका दिनदेखि नै खाली छ। 

जिल्लामा गठन भएको कमान्ड पोस्टले पनि यो कुरामा खासै चासो देखाएको पाइँदैन। जिल्लाको जैमिनी नगरपालिकाले नियम मिचेर सवारी चलाएको भन्दै भण्डाराका सावरीचालक बाबुराम शर्मालाई स्थायीयको निगरानीमा होम क्‍वारेनटाइन पठाएको छ। तर त्यही नगरमा केकति वैदेशिक रोजगारीबाट आए भन्ने बिषयमा भने यकिन तथ्यांक छैन। नियम मिचेको बहानामा भनसुनका आधारमा चालक क्‍वारेनटाइनमा राख्ने नगरपालिकाले शान्ति माविमा बनाएको २० बेडको क्‍वारेनटाइनमा भने कसैलाई राखेको छैन। 

धौलागिरि अञ्चल अस्पतालले हेल्लो डाक्टर अनकल समूह बनाएको छ।अन्तरंग सेवा बन्द गरेको अस्पतालमा यो संकट सुरु हुनुपूर्व नै दैनिक ३ सयभन्दा धेरै बिरामी आउँथे। अहिले ती बिरामीको सहजताका लागि बनाइएको अनकल नम्बरहरु नै नउठ्ने गरेको सर्वसाधारणको गुनासो छ। ‘ज्वरो आयो, रुघा लाग्यो, प्रसूति सेवा छ÷छैन भनेर फोन आउँछन्’, डाक्टर सिर्जना अर्यालले भनिन्, ‘पाँच जनालाई अलग अलग फोन आउँछ कस्कोमा कति आए भन्ने के थाहा हुन्छ र ?’  बिरामीले सल्लाह पाए पाएनन भनेर अनकल सेवामा भनिएका डाक्टरहरुले अहिलेसम्म कुनै छलफल गरेका छैनन्। 

जिम्मेवारी दिएका र पाएकाहरुले पूरा नगर्दा संकटको बेला नेतृत्वविहीन बनेका छन्, सर्वसाधारण। त्यसको असर शनिबार साँझ कोरोना पोजेटिभ देखिएकी युवतीको उपचारका लागि कहाँ लैजाने भन्ने विषयमा समेत देखाप¥यो। अञ्चल अस्पतालले बिरामी लिन नमानेपछि गृह मन्त्रालयको निर्देशननै कुर्नुपरेको उच्च प्रहरी अधिकृत बताउँछन्। अहिलेहल्ला भन्दा पनि काम गरेर परिणाम देखाउने बेला हो, तर यसैमा धेरै अलमल छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.