सिरहाबाट पाँच दिन हिँडेर पुगेका थिए गाईघाट

|

उदयपुर : ‘लकडाउन’को पाचौँ दिन, दिउँसो करlब २ बजेको तातो घाममा प्रहरीहरु उदयपुर सदरमुकाम गाईघाट बजारको बसपार्क क्षेत्रमा ड्युटी गरिरहेका थिए। 

बजार पूरै सुनासान थियो। प्रहरीका गाडी, एम्बुलेन्स र आकस्मिक सवारीसाधनहरु मात्रै सडमा गुडिरहेका थिए। त्यहीबीचमा एकजना बृद्ध लखरलखर पैदल आइरहेको प्रहरीले देखे। 

प्रहरीले ती वृद्धलाई सोधपुछ गर्न लागे। तातो घाम, लामो हिडाईं र ‘लकडाउन’ को माहोलमा वृद्धाले खासै बोल्ने मन गरेनन। 

ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान सिबी राईले दयालु भाषामा उनको स्थिती बुझ्ने प्रयास गरे। उनले मलिन अनुहारमा सुनाए, ‘सिरहाबाट हिँडेको ५ दिन भयो, घर जाँदैछु बाबु।’ 

खुट्टामा गोल्डस्टार जुत्ता, पिठ्यूमा झोला र हातमा लठ्ठी समातेर हिँडिरहेका उदयपुर खाँबुका ८२ वर्षीय लोकमानका खुट्टा भने सुन्‍निएका थिए।  

वृद्धको अवस्था देखेपछि प्रहरी जवान राईले उनलाई पानी पिलाए । आफूसँग भएको खानेकुरा खान दिए। एकछिन आराम गर्न लगाए। ‘ती वृद्धको अवस्था देखेर निकै दया लाग्यो, खुट्टाका कुर्कुच्चा र घुँडा सुन्निएर टेक्नै नसकिने अवस्थामा थिए’, उनले थाहाखबरलाई सुनाए, ‘खुट्टा खोच्याउँदै आउनुभएको थियो।’ 

वृद्धलाई देख्दा आफ्नै ठूलोबुवा जस्तो लागेको उनले सुनाए। ‘घरीघरी आफ्नै ठूलोबुवा जस्तो लाग्थ्यो, बाटोमा कुनै पसल नखुलेकाले धेरै दिनदेखि भोकै हुनुहुँदो रहेछ। त्यति धेरै टाढाबाट ५ दिन लगातार हिँडेर आएको थकित शरीर देखेर आफूसँगै बस्न अनुरोध गरेँ’, उनले भने, ‘तर उहाँले मान्नुभएन। ‘भोलि (१७ चैत) सम्म घर पुग्छु, तपाईंले आजलाई खानेकुरा दिनुभएको छ, यसैले भोक मेटाउँछु भनेर हिँड्नुभयो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट लकडाउन भएको दोस्रो दिन उदयपुर पुगेका राईले बजार क्षेत्रमा नौलो अनुभव गरिरहेका थिए। 

‘आफूले आफ्नो तर्फबाट मानवीय नाताले सानो सहयोग गर्न पाएकोमा निकै गौरबको महसुस भयो,’ उनले भने, ‘सहकर्मीहरुले आफुले गरेको सहयोगको फोटो खिचेर सामाजिक संजालमा हालेपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। यसले आफ्नो पेशाप्रतिको इमान र सक्रियातामा अझै हौसला मिलेको छ।’ 

कतिपय स्थानमा ड्युटीमा खटिएका प्रहरीहरुको व्यबहारको आलोचना भइरहेको बेला यस्ता मानवीय सहयोगले संगठनको विश्वानीयतालाई उच्च बनाउन सक्ने उनको ठम्याई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.