|

खोटाङ : लकडाउनका समयमा ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघ खोटाङले पानी, जुस र चाउचाउ वितरण गरेको छ। 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको लकडाउनलाई सफल बनाउन अहोरात्र खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले खाजा तथा पानीलगायतका खाद्य सामग्री वितरण गरेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा संघका प्रमुख संरक्षक कुमार आचार्यलगायत व्यवसायीको टोलीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेका हुन्।

संघले ५० कार्टन पानी, ४० कार्टन फ्रुटी, ५० कार्टन चाउचाउ र ७५ थान मास्क प्रदान गरेको हो। संकटकाबीचमा खटिएका प्रहरीको हौसलाका लागि ६० हजार रुपैयाँ बराबरको वस्तु सहयोग गरेको संघका अध्यक्ष रमेश पौडेलले बताए। 

‘कोरोना भाइरसको जोखिमबाट बच्न लागु गरिएको लकडाउन सफल बनाउन प्रहरीहरु अहोरात्र खटिरहेका छन्, यो बेला जुनसुकै ठाउँमा जहाँ पायो त्यहीको पानी खाने अवस्था छैन, जस्तो पायो त्यस्तै खानेकुरा खाने अवस्था छैन,’ संरक्षक आचार्यले भने, ‘लकडाउनले बजार बन्द छ, तिर्खा लाग्दा एक घुड्की पानी पिउने वातावरण छैन। पानीकै लागि ढोका ढकढकाउने अवस्था छैन। त्यही भएर कम्तीमा ड्युटीमा खटिएको बेला सहजताका साथ पानी पिउन पाऊन् भनेर सहयोग गरेका हौं।’

महामारीविरुद्ध लडिरहेका प्रहरीलाई निर्माण व्यवसायीको सहयोगले काममा लागिरहन प्रेरणा मिलेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। प्राप्त सामग्री ड्युटीमा खटिएका प्रहरी र लकडाउनका कारण समस्यामा परेर उद्धार गर्नुपर्ने नागरिकहरुलाई प्रदान गरिने गौतमले बर्ता। यस्तै, प्रहरीलाई यसअघि सक्रिय बचत तथा ऋण सहकारी संस्था दिक्तेलले पनि पानी, जुस, बिस्कुटलगायतका सामग्री प्रदान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.