|

बाँके: नेपालगन्जसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार रुपइडिहामा दुई सय नेपाली अलपत्र परेका छन्। भारतको बिभिन्न स्थानबाट सीमा क्षेत्रमा आइपुगेका झण्डै दुईसय नेपाली सीमा नाका बन्द भएपछि रुपइडिहामा अलपत्र परेका हुन्।

भारतीय सशस्त्र सीमा बल (एसएसवी) मार्फत नेपाली अधिकारीको समन्वयमा नेपाल ल्याउने प्रयास भए पनि नेपाली पक्षले ल्याउन नमानेपछि उनीहरू दुई दिनदेखि रुपइडिहामा अलपत्र भएका छन्। अलपत्र परेका नेपालीमा बालबालिका, बृद्धबृद्धासमेत छन्।

उनीहरूलाई सोमबार विहान एसएसबीले चिया नास्ता, पानी र दिउँसो स्थानीय युवाको समूहले खाना खुवाए पनि बेलुकीको खाना नपाएको रुपइडिहाबाट पत्रकार सन्तोष शुक्लले जानकारी दिए। उनले भने, ‘भोक, पियासले सीमामा रहेका नेपाली ब्याकुल भएका छन्। सुत्न र खान नपाएर विरामी हुने खतरा बढेर गएको छ।’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीर्घराज उपाध्यायले केन्द्रबाट कुनै आदेश नआएकाले नेपाल ल्याउन नसकेको बताए। उनले भारत र नेपाल दुबैतर्फ लकडाउन भएकाले स्थानीय प्रशासनले नेपाल ल्याउन नसक्ने बताए। ‘हामीले केन्द्रको आदेश पर्खिरहेका छौँ,’ उनले भने, ‘निर्देशन आउनासाथ नेपाल ल्याएर सम्बन्धित जिल्लामा जाने ब्यवस्था मिलाउँछौं।’

यसअघि भारतबाट आएका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा बस्ने सहमति गरेर सम्बन्धित जिल्लामा पठाउने गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.