|

विराटनगर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते तोकिएपछि देशभरका क्याम्पसमा चुनावको सरगर्मी बढेको छ। राजनीतिक महत्वका दृष्टिकोणले  राजधानीपछि दोस्रो स्थानमा आउने पूर्वको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पस पनि स्ववियू निर्वाचनको सरगर्मीबाट अछुतो छैन्।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा वि.सं. २०२१ सालको विद्यार्थी आन्दोलनबाट जन्मिएको स्ववियुले आफ्नो औचित्य सावित गर्न सक्यो कि सकेन भन्‍ने विषयमा यस क्याम्पसमा बहस भैरहेको छ। स्ववियू विद्यार्थीका हितका निम्ति चिर्वाचित संस्था हो भन्‍ने विषयमा सरोकारवालाहरुको  दुईमत छैन।

तर, अहिलेसम्म स्ववियूले प्राज्ञिक उन्‍नयनको सीमाभित्र रहेर कति प्राज्ञिक वातावरण सिर्जना गर्न सक्यो भन्ने विषयको खोजी जरुरी रहेको महेन्द्र मोरङ क्याम्पसका सहायक प्राध्यापक बाबुराम तिम्सिना बताउँछन्।‘विश्वविद्यालयका विद्यार्थीको क्षमता अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने गरी भूमिका खेल्नु पर्थ्यो,'तिम्सिनाले भने,‘तर, सच्चा विद्यार्थी भन्दा फर्जी विद्यार्थी नेताले स्ववियू कब्जा गरिदिँदा शैक्षिक क्षेत्रमा बढी राजनीतिक हस्तक्षेप भयो।’

विश्वविद्यालय आफैंले शैक्षिक क्यालेण्डर जारी गर्न नसक्दा यस्ता विकृति देखिएको तिम्सिना बताउँछन्। ‘अयोग्य र पोगटा मान्छेले स्ववियूमा हालीमुहाली गरे। जसका कारण अहिलेसम्म स्ववियुको औचित्य साबित हुन सकेन,’ तिम्सिनाले भने,‘यसलाई सुधार गर्न विश्वविद्यालयले कडाइका साथ शैक्षिक क्यालेण्डर निर्माण गर्ने र कार्यान्वयन गर्ने काम गर्नुपर्छ। बाह्रै महिना विद्यार्थी भर्ना गरिरहने परिपार्टी अन्त्य हुनुपर्छ।’ 

क्याम्पसका निवर्तमान स्ववियू सभापति जयराम सुन्दास स्ववियूले आफ्नो औचित्य साबित गर्न नसकेको स्वीर्काछन्। उनी केही व्यक्तिले स्ववियूलाई भष्टाचार गर्ने थलो बनाएका कारण समस्या देखिएको बताउँछन्। ‘अहिलेसम्मको ट्रेण्ड हेर्दा चुनाव जित्न जे पनि बोल्ने तर चुनाव जितेपछि स्वार्थ अनुसार भ्रष्टाचार, अनियमिततामा फस्ने देखिएको छ,’ उनले भने,‘निर्वाचनदेखि नै अस्वस्थ प्रतिस्पर्धा, गुण्डागर्दी हाबी हुने र विद्यार्थीको पक्षमा काम नहुने हुँदै आएको छ, यो दुर्भाग्यपूर्ण छ।’ 

क्याम्पसका सहायक कर्मचारी प्रमोद कामत चुनावमा देखिने अस्वस्थ्य प्रतिस्पर्धाका कारण स्ववियूले आफ्नो औचित्य साबित गर्न नसकेको बताउँछन्। ‘विद्यार्थी संगठनहरुबीच निर्वाचनको सन्दर्भ पारेर हजार भन्दा बढी विद्यार्थी भर्ना गर्ने होडबाजी चल्छ। फर्जी विद्यार्थीको भोटले जितेका विद्यार्थी नेता वास्तविक विद्यार्थीभन्दा फर्जी मानिसहरुको स्वार्थ पूरा गर्नतिर लाग्छन्,’ कामतले भने,’ ‘त्यति मात्रै होइन निर्वाचनको पूर्व सन्ध्यामा विद्यार्थी भर्ना गर्दा लागेको खर्च उठाउन पदाधिकारीले क्याम्पसमै भ्रष्टाचार सुरु गर्छन्। सोझा–साझा विद्यार्थी यस्तो हुलदंगा र गुण्डागर्दीको बीचमा निर्वाचनमा सहभागी भएको देखिँदैन।’

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा निर्वाचनलाई लक्षित गरेर  १५ सय बढी विद्यार्थी भर्ना भएको स्वयं विद्यार्थी संगठनका नेताहरु बताउँछन्। महेन्द्र मोरङ क्याम्पसमा त्यसबेला भोट हाल्न पाउने विद्यार्थी संख्या ४३ सय थियो।

स्ववियूको आडमा विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा दादागिरी गर्ने गरेको विद्यार्थीहरुकै आरोप छ। ‘संगठनका नेताहरुले क्याम्पसका प्रमुखलाई थर्काउनेदेखि आफू निकटका विद्यार्थीलाई खुलेआम परीक्षामा चिटिङ गराउने, सिट साटफेर गर्ने लगायतका काम पनि गराउँछन्। जसले गर्दा शैक्षिक वातावरण गुणस्तरीय बन्नुको सट्टा बिग्रिएको छ,’ एक विद्यार्थीले गुनासो गरे। 

मारपीट र हत्याको इतिहास 

महेन्द्र मोरङ क्याम्पसमा २०३८ सालमा स्ववियू गठन भएको थियोे। त्यसबेलाका स्ववियु सभापति विजयकुमार गच्छदार हाल देशकै एक शीर्ष नेतामध्येमा छन्। सोही बेला निर्वाचित कोषाध्यक्ष विद्यादेवी भण्डारी हाल राष्ट्रपति छिन्। त्यसबेलाको स्ववियू निर्वाचनको सन्दर्भमा बामपन्थी विद्यार्थी र कांग्रेस निकट विद्यार्थीबीच झडप हुँदा बामपन्थी विद्यार्थी फणिन्द्र तिम्सिनाको मृत्यु भएको थियो। 

यस्तै, महेन्द्र मोरङकै विद्यार्थीबीच विवाद भएर दुई दशक अघि गोरे लामाको हत्या भएको थियो। यसअघिकै निर्वाचनमा कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले क्रान्तिकारीका जयराम सुन्दासलाई मरणासन्न हुनेगरी आक्रमण गर्‍यो।

२० दिनको अस्पताल बसाईपछि तिनै जयराम सुन्दासको नेतृत्वमा अनेरास्ववियु चुनावमा होमियो र महेन्द्र मोरङ क्याम्पसमा बामपन्थी नेतृत्व आयो। निर्वाचनको समयमा आफूहरु जहिल्यै डर, धाक र धम्कीमा रहनुपर्ने कर्मचारी बताउँछन्। ‘११ वटा स्ववियु निर्वाचन गराएको महेन्द्र मोरङ क्याम्पसको निर्वाचन यस पटक पनि शान्तिपूर्ण हुन्छ भन्ने कुरामा ढुक्क हुने अवस्था देखिँदैन,’ कर्मचारी कामतको आशंका छ।

महेन्द्र मोरङ क्याम्पसमा आफ्नै संगठनभित्र समेत बिभिन्न बहानामा मारकाट हुने गरेको इतिहास छ। अघिल्लो निर्वाचनमा नेविसंघबाट टिकट नपाएपछि रोहित कोइराला र रामकुमार खत्रिबीच पटक–पटक झडप भएको थियो। ‘यहाँ त युवा विद्यार्थीलाई अगाडि सारेर आफ्नो स्वार्थ पुरा गर्न खोजिँदो रहेछ,’ पूर्व स्ववियु सभापति सुन्दासको भनाइ छ, ‘पार्टीले जा भिड भन्छ, भिडन्तबाट आउने परिणामलाई जिम्मा नलिँदा म आफूलाई पनि समस्या भयो।’  

प्रसादको बहानामा सुरु भयो विवाद

चुनाव लागेपछि महेन्द्र मोरङ क्याम्पसमा सरस्वती पूजामा बाँडिएको प्रसादको विषयलाई लिएर विवाद सुरु भएको छ। सरस्वती पूजामा सबै विद्यार्थी संगठन मिलेर व्यवस्थापन गर्ने सहमति भए अनुसार प्रसाद किन्ने जिम्मेवारी एउटा समितिलाई दिइएको थियो। तर, उक्त प्रसाद गुणस्तरहीन भएको नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीको आरोप छ।

कमिटीले विज्ञप्ति निकाल्दै प्रसाद खाने विद्यार्थीको पेट दुखेको, अस्पताल भर्ना गर्नुपरेको लगायतका आरोप लगाएको छ। क्याम्पस इकाई कार्यबाहक सभापति केशव गिरीले एमाले निकट अखिलले गैरजिम्मेवारीपूर्ण काम गरेको आरोप लगाएका छन्। प्रतिकेजी १ सय ४४ रुपैयाँमा किनेको बुनियाको बिल २ सय रुपैयाँका दरले क्याम्पस प्रशासनमा बुझाएको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ। 

अखिल क्रान्तिकारीका क्याम्पस इकाई सभापति अभिमन्यु यादवले नेपाल विद्यार्थी संघ र अखिलका केही नेताहरुले मिलेर बिल पेश गरेको आरोप लगाएका छन्। नेविसंघ र क्रान्तिकारीले यसरी आरोप लगाउन थालेपछि अखिलले क्याम्पस हाताभित्रै आफूलाई आरोप लगाउनेको पुत्ला दहन गरेको छ।

यसरी प्रसादको बहाना देखाएर ३ फरक संगठन ३ ध्रुवमा देखिएका छन्। चुनावी क्याम्पेनिङका लागि उनीहरुले विपक्षी स‌ंगठनलाई कमजोर बनाउन यस्ता अनेक बहाना अघि सारेका छन्। क्याम्पस प्रमुख महेन्द्रनारायण यादव विद्यार्थी संगठनहरुले सानो कुरामा विवाद गर्नु राम्रो संकेत नभएको बताउँछन्। ‘सबै विद्यार्थी संगठनले स्ववियु निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनु भूमिका खेल्नु आवश्यक छ,’ उनले भने। 

फ्रेस विद्यार्थी, फ्रेस म्यान्डेट

यस पटकको स्ववियू निर्वाचनमा अघिल्लो पटकजस्तो फर्जी विद्यार्थीको भीड तथा मारकाट नदेखिने विश्वास क्याम्पस प्रशासनले लिएको छ। क्याम्पसका प्रमुख महेन्द्रनारायण यादवले क्याम्पसको यस पटकको निर्वाचन नमूना हुने विश्वास व्यक्त गरे।‘इतिहास सँधै दोहोरिँदैन,’ उनले भने,‘तपाई ढुक्क हुनुहोस्, यस पटक शैक्षिक वातावरणलाई कायम गर्दै नमूना निर्वाचन गर्न चाहन्छौं।’ 

क्याम्पसले केही दिनभित्रै निर्वाचन आयुक्त र क्याम्पसको आचारसंहिता जारी गर्ने जनाएको छ। विद्यार्थी जिसस न्यौपानेले उमेर हदका कारण पनि यस पटकको निर्वाचन स्वच्छ र शान्तिपूर्ण हुने बताए। ‘विगतमा क्याम्पस ढुकेर स्ववियू निर्वाचनकै लागि बस्ने परम्परा अन्त्य भएको छ,’ न्यौपानेले भने,‘यस पटक सोही कारण पनि फ्रेस विद्यार्थीले फ्रेस म्याण्डेडका साथ फ्रेस क्यान्डिडेटलाई निर्वाचित गर्छन्, झै–झगडाको अवस्था निम्तिन दिनु हुँदैन।’

यस पटक महेन्द्र मोरङ क्याम्पसमा कुनै पनि संगठनले फर्जी विद्यार्थी भर्ना नगरेको दाबी क्याम्पस प्रशासनको छ। क्याम्पसले थाहै नदिइ एकैपटक भर्ना रोकेका कारण उक्त विकृति नदेखिएको क्याम्पस प्रशासनले जानकारी दियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • galat reporting bhayo. 2036 sal pachhi ko free student union ko pahilo president Dhruba Narayan Strestha dosro chunau Bijay Gachhadar haru le bithole. Tehi bela Fanindra Timsina mariyeka hun. Tesh pachhi bhayeko chunau ma Ramesh Bhattarai president bhayeka hun. Bijay Ghachchadar kahile pani president bhayeka hoinan. Bina anusandhan ko pani reporting hunchha? Hait?