|

 

 

१.

बारी बाँझै भाको समाचार आउँदैन

हाम्रो  गाउँतिर  पत्रकार  आउँदैन

 

हली  हुनुको  मजा  अर्कै  छ मित्र

मेरा बालाई खोज्दै अख्तियार आउँदैन

 

प्रविधिको  आविस्कार बढी रहे पनि

दिलको चिरफार गर्ने औजार आउँदैन

 

भरिया  पुर्पुरोमा हात राखेर सोच्दछ

चुलो ध्वाँनुमा किन निखार आउँदैन ?

 

सम्झन खोज्छु कोको थिए आफन्त

आँखामा कसैको अनुहार आउँदैन ।

 

२.

चुलो, चौका खट्प्वालभन्दा माथि उठेन

जिन्दगी चार पर्खालभन्दा माथि उठेन

 

लेख्नु थियो देश, माटो, समाज लेख्नु थियो

मेरो कलम अनिकालभन्दा माथि उठेन

 

बाउको  जिन्दगी माछा मारेर सिद्धियो

छोरो पनि उही जालभन्दा माथि उठेन

 

सिन्दूर, टीका, चुरा मैले भनेर के गर्नु

तिम्रो चिनो रुमालभन्दा माथि उठेन

 

कहिल्यै माथि उठेन मान्छेको भाइचारा

जस्तो कि भ्यागुतोको तालभन्दा माथि उठेन ।

 

३.

आज फुल्ने भोलि झर्ने जीवनका लागि

मरिहत्ते गर्नु छ एउटा कफनका लागि

 

तिमी मान्छे मारेर शान्ति पाउँछौ भने

अर्जाप हतियार मेरो गर्धनका लागि

 

जतिपल्ट चुँडिन्छ फूल देउताको लागि

त्यति चुँडिएको छ यो मन त्यो मनका लागि

 

सधैँ  सधैँ समय अनुकूल कहाँ हुन्छ र

औँशीको जूनलाई हेर उदाहरणका लागि ।

 

(माघ २२ गते शनिबार विमोचन हुने गजल संग्रह 'आरन'बाट।)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.