|

म्याग्दी : कोरोना (कोभिड-१९) भाइरस संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको 'लकडाउन' का कारण बजार नखुलेपछि म्याग्दीका किसानले दुध दुहेर भैंसीलाई नै पिलाइरहेका छन्‌। 'लकडाउन' गरिएलगत्तै सदरमूकाम बेनी बजारमा बसोबास गर्ने मानिसहरू गाउँतर्फ लागेपछि दुध बिक्न छाडेको छ। 

सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको बेनी नगरपालिका ६ बाँसबोटमा वरदान पशुपंक्षी फार्म संचालन गरिरहेका दुर्गाप्रसाद पौडेल दैनिक ५० लिटर दुध उत्पादन गर्छन्‌। तर कोरोना संक्रमणका कारण नबिकेपछि दैनिक ५० लिटर दुध भैंसीलाई नै पिलाउने गरेको पौडेलले बताए।

जिल्लाका अधिकांश पशुपालक र दुग्ध किसानहरूले अहिले पौडेलले झैं समस्या भोगिरहेका छन्। रंजा, सिंगा, बासकुना, अर्मनलगायतका स्थानीय किसानले दुध नबिकेपछि गाई-भैंसीलाई पिलाउने र खोलामा बगाउने गरिरहेको स्थानीय कृषक श्याम सापकोटाले बताए। 'लकडाउन' लम्बिएमा व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै किसानहरू चिन्तित बनेका छन्‌।

बेनी नगरपालिका भित्रका दुग्ध संकलन केन्द्रले यसअघि संकलन गरेको दुधसमेत खेर गइरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक सुवास रेग्मीले बताए। उनले भने, 'लकडाउन हुँदा किसानलाई दैनिक लाखौं रुपैयाँ घाटा भइरहेको छ, उहाँहरूको समस्यालाई हेरेर बस्नुको विकल्प छैन।'

पशु सेवा विज्ञ केन्द्रका अनुसार बेनी नगरपालिकाभित्रका किसानले मात्रै बेनी बजारमा दैनिक करिब ३,००० लिटर दुध बिक्री गर्दै आएका थिए। तर बजार सुनसान हुँदा यतिखेर साविक खपतको ३५ प्रतिशत दुधमात्र बिक्री हुने गरेको छ।

बेनीबजारमा मंगला गाउँपालिकाको बरंजा र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको विभिन्न वस्तीहरूबाट पनि दुध आयात हुने गरेको छ।

कुखुरापालन व्यवसायी पनि अप्ठ्यारोमा

'लकडाउन'ले अन्य व्यवसायलाई झैं कुखुरापालन (पोल्ट्री व्यावसाय) पनि असर परेको किसानहरूले बताएका छन्‌। जिल्लामा रहेका पोल्टी फार्म संचालकहरूले आफ्नो व्यवसाय चौपट भएको र संकटमा परेको दाबी गरेका हुन्‌।

बेनी नगरपालिका ६ चुत्रेनीका रामप्रसाद श्रेष्ठले बजारमा लैजान तयार भएका १,५०० भन्दा बढी कुखुरा फार्ममा नै रहेको बताएका छन्‌। यस्तै, बेनी नगरपालिका २ बगरफाँटका डेकबहादुर कार्की र इन्द्रबहादुर जिसी लगायत कुखुरापालक कृषकले पनि चिन्ता व्यक्त गरेका छन्‌। बिक्री योग्य भएका कुखराहरू नबिक्दा लाखौंको नोक्सानी ब्यहोर्न बाध्य भएको उनीहरूको भनाई छ।

बिक्री गर्ने बेला भएको कुखरा नबिकेको र ती कुखुरालाई बचाउन आवश्यक दानासमेत अभाव भएपछि किसानहरू चिन्तित बनेका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.