|

गुल्मी  ः गुल्मीको धुर्कोट गाउँपालिकाले लकडाउनमा खाद्य संकट टार्न गाउँमै खाद्य सामग्री संकलन गर्ने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँमा उत्पादन भएका मकै, कोदो, धान, गहुँ, जौलगायत खाद्य सामग्री सहयोग गर्न अपिल गरेको हो। 

त्यस्तै चामल, दाल, नुन, फापर, आलुलगायत अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधि, उपकरणलगायत जिन्सी सामग्री गाउँपालिकाले सहयोगस्वरुप प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए।

५० लाखको कोष स्थापना गरिने

गाउँपालिकाले गरिब तथा विपन्‍न परिवारका लागि ५० लाखको कोष स्थापना गर्ने निर्णय गरेको छ। जसका लागि अध्यक्ष र उपाध्यक्षले एक÷एक महिनाको तलब, वडाध्यक्ष, कार्यपालिका सदस्य सदस्य र वडा सदस्यबाट १५ ÷१५ दिनको तलब दिने निर्णय गरेको छ। त्यस्तै अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको तलब, शिक्षकहरुबाट दुई दिनको तलब र सहायकस्तरका कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम विपन्‍न कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए। 

खाद्यान्‍न र आर्थिक संकलन 

गाउँपालिकाले सूचना जारी गरेसँगै खाद्यान्‍न तथा आर्थिक संकलन हुन सुरु गरेको छ। जसअन्तरगत नेपाल कम्युनिस्ट पार्टी धुर्कोट गाउँ कमिटीले सम्पूर्ण पार्टी कार्यकर्ताबाट संकलन गरेको एक लाख प्रदान गर्ने भएको छ। जैसीथोक समाज गुल्मी काठमाडौद्वारा जैसीथोकका विपन्‍न परिवारका लागि ९० हजार तथा धुर्कोट ६ रजस्थल निवासी अनन्तबहादुर कुँवरबाट १० हजार प्राप्त हुने गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिए।

विपन्‍नको वर्गीकरण 

गाउँपालिकाले विपन्‍नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ। जसअन्तरगत अपांग भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेसा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घरोगी भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० वर्षभन्दा माथिका नागरिकलाई पनि गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ। परिवारका कुनै सदस्यको नियमित आम्दानीको स्रोत नभई ज्यालादारी रुपमा काम गर्ने, लकडाउनका कारण आम्दानीको स्रोत रोकिएको तथा घरमा खेतीयोग्य जमिन कम भएकोलाई ‘ख’ वर्गमा वर्गीकरण गरिएको गाउँपालिकाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.