|
तस्बिर : भारतबाट फर्किएहरूको स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यकर्मी।

डडेल्धुरा : पछिल्लो दुईसाताअवधिभित्र भारतलगायत अन्य मूलुकबाट डडेल्धुरामा २,३६४ जना मानिसहरू आएको पाइएको छ। जिल्लामा रहेका दुई नगरपालिका र पाँच वटा गाउँपालिकाले संकलन गरेको तथ्यांकअनुसार पछिल्लो दुई साताभित्रै यहाँ विदेशबाट दुई हजारभन्दा बढी मानिसहरू आएको खुलेको हो। 

विदेशबाट आएकामध्ये अहिलेसम्म २३ जनालाई मात्रै 'क्वारेन्टाइन'मा राखिएको छ। अमरगढी नगरपालिकामा अर्को मुलुकबाट आएका ३१४ जना आएकामा अहिलेसम्म एक जनालाई पनि 'क्वारेन्टाइन'मा राखिएको छैन।

तर, नगरपालिकाको स्वास्थ्य शाखाले भने विदेशबाट आएका सबैजना 'होम 'क्वारेन्टाइन' मा बसिरहेको दाबी गरेको छ। अमरगढीका दुई जनालाई रुघाखोकी र ज्वरो देखिएपछि कारोना भाइरस परीक्षणका लागि नमुना संकलन गरी पठाइएको छ। तर 'थ्रोट स्वाब'को रिपोर्ट आइसकेको छैन।

यस्तै भित्री-मधेशमा पर्ने परशुराम नगरपालिकामा अर्को मुलकबाट आएका ६६७ जनामध्ये १० जनामात्र नगरले बनाएको 'क्वारेन्टाइन'मा बसेका छन्। नवदुर्गामा पनि ४४८ जना तेस्रो मुलुकबाट आएका छन्।

आलितालमा १९६, अजयमेरुमा २०४, गन्यापधुरामा २५९ जना विदेशबाट आएको खुलेको छ। यी मध्ये सातजनालाई गाउँपालिकाले व्यवस्थापन गरेको 'क्वारेन्टाइन'मा राखिएको छ। भागेश्वर गाउँपालिकामा विदेशबाट आएका २०७ जनामध्ये पाँच जनामात्रै गाउँपालिकाले खानासहित व्यवस्था गरेको 'क्वारेन्टाइन'मा बसेका छन्‌। 

यसअघि विभिन्न स्थानीय तहले तयार पारेको 'क्वारेन्टाइन' बसेका ५२ जना सामान्य चेकजाँच गरेर घर फर्किएका छन्। उनीहरूले आफू 'होम 'क्वारेन्टाइन'' मा बस्ने भनेपछि जान दिइएको सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका अधिकारीहरूले बताएका छन्‌।

सुदूरपश्चिमभर अहिलेसम्म भारतसहित तेस्रो मुलुकबाट आएका १,४४२ जनालाई अनिवार्य 'क्वारेन्टाइन'मा राखिएको छ। प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका ३,६६० शय्याका 'क्वारेन्टाइन'हरूमा १,४४२ जनालाई राखिएको हो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशभर अहिलेसम्म १,४४२ जनालाई अनिवार्य 'क्वारेन्टाइन'मा राखिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.