|

हेटौंडा : कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न बागमती प्रदेश सरकारले संक्रमण फैलन नदिन र आवश्यक उपचारको व्यवस्था गर्न आधारभूत तयारी गरिएको जानकारी गराएको छ। मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासीको नाममा सम्बोधन गर्दै प्रदेश सरकार अहोरात्र क्रियाशील रहेको बताए। 

सम्बोधनमा पौडेलले कोरोना अस्पताल, आइसोलेसन वार्ड निर्माण, क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आइसियु र भेन्टिलेटरको व्यवस्था एवं औषधि तथा उपकरणको प्रबन्ध गर्ने आधारभूत कार्य सम्पन्न गरेको बताए।  

५० करोडको कोष 

मुख्यमन्त्री पौडेलका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि बागमती सरकारले ५० करोडको कोष स्थापना गरेको छ। उक्त कोषमा प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्यहरू साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरिएको छ।

संघीय सरकारले गरेको प्रबन्धबाहेक हेटौंडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडि आरटिसी) मा रहेको ल्याबलाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गर्ने व्यवस्था गरेको समेत बताइएको छ। यस्तै सरकारले  भरतपुर महानगरपालिका संगको सहकार्यमा प्रदेश सरकारले ७० बेडको छुट्टै कोरोना विशेष अस्पताल संचालन गरेको बताएको छ  ।

१३ वटै जिल्लामा आइसोलेसन वाड, १७ सय १४ जनशक्ति 

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा आइसोलेसन वार्ड तयार भएको छ। २०७६ चैत्र १७ गतेसम्म दुई हजार ७५ क्वारेन्टाइन बेडहरू छन्। त्यस्तैगरी, ६ सय २३ आइसोलेसन बेड, १ सय ४८ आइसियु बेड, ६ सय ९२ थान पिपिईको प्रबन्ध भइसकेको छ। त्यस्तै, थप १ सय ७२ वटा आइसोलेसन बेड तयारीको क्रममा रहेको छ भने २३ वटा आइसियु बेड समेत तयारीको क्रममा रहेको बताइएको छ। यस्तै प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि कन्सल्ट्याण्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २५१, नर्सिङ सुपरभाइजर ३४, स्टाफ नर्स ७१३, हेल्पर/नर्स सहयोगी ४७५ र ल्याबोरेटरी प्रर्शनल १५७ जना गरी १७ सय १४ जनशक्ति तयारी अवस्थामा राखेका मुख्यमन्त्री पौडेलले जानकारी दिउका छन्।

हालसम्म प्रदेशका विभिन्न जिल्लाहरूमा मास्क २२ हजार ८ सय थान, ह्याण्ड स्यानिटाइजर १२८ लिटर, पिपिई ७२, प्राटोकल फर्म ६३, इन्फ्रारेड थर्मोमिटर ४४, शु कभर ५ सय १०, क्याप ३ सय १०, ग्लोब्स ६३, गोन मिड्यम २ सय ८५ तथा १ सय ५१ थान ह्याण्ड बुक पठाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

खाद्यान्न मौज्दात 

प्रदेश सरकारकाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न हुन सक्ने परिस्थितिसँग लड्न प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको छ। बागमतीमा चामल ११ हजार २९० मेट्रिक टन र ३२ हजार मेट्रिक टन नुन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको बताइएको छ।   

अनुगमनदेखि बजेटसम्म 

मुख्यमन्त्री पौडेलका अनुसार बागमती सरकारले प्रदेशस्तरीय र्‍यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचार प्रसार, सूचना संचारका गतिविधिको सञ्चालन भइरहेको छ। २४ घण्टा नै सहायता कक्षको प्रबन्ध गरिएको पौडेलले जानकारी दिए। 

प्रदेश सरकारले काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०/२० लाख, हेटौंडा उपमहानगरपालिकालाई १५ लाख, ४१ वटै नगरपालिकालाई १२/१२ लाख, ७४ वटै गाउँपालिकालाई १०/१० लाख र १३ वटै जिल्ला विपद व्यवस्थापन समितिका लागि १३ नै जिल्ला समन्वय समितिमार्फत ५/५ लाख रकम विनियोजन गरेको छ।

यस्तै चितवन जिल्लामा भरतपुर महानगरपालिकामार्फत कोरोना विशेष अस्पताललाई १ करोड,  चितवनकै रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताललाई २० लाख रकम तथा स्वास्थ्य सामग्री एवं उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ।

सरकारले गरेको काम र अवस्थाबारे अनुगमन गर्न पनि सांसदसहित टोली तयार पारेको मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन्। प्रदेशसभाको प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्यको नेतृत्वमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सांसद, जिल्ला समन्वय समितिका जनप्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त दलका सम्बन्धित प्रदेशसभा निर्वाचिन क्षेत्रका प्रतिनिधि समेतको सहभागितामा समन्वय, अनुगमन र एकीकृत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको मुख्यमन्त्री पौडेलले बताए।   

सरकारलाई साथ दिन्छौं : कांग्रेस 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले नेपाली कांग्रेसले कारोनाविरुद्धको अभियानमा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकी छन्। उनले सरकारले कोरोनाविरुद्धको अभियानका लागि चाल्ने सकारात्मक कदममा साथ दिने बताएकी हुन्। 

सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न सुझाव दिँदै यसका लागि बन्द रहेका विद्यालय र कलेजलाई प्रयोग गर्न सकिने अवगत गराइन्। उनले विशेष गरी दैनिक ज्याला गरी जीवनयापन गर्ने वर्गलाई लक्षित गर्दै राहत प्याकेजको व्यवस्था गर्न माग गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.