|

बागलुङ : चैतशुक्ल अष्टमी अर्थात् चैते दशैं। बागलुङका शक्तिपीठहरू भरीभराउ हुने समय हो यो। बागलुङ कालिकामा चैत्राष्टमीको नवदुर्गा सुरु भएदेखि रामनवमीको दिनसम्म ठूलो भीड लाग्थ्यो। तर आज बागलुङ भवगवती कालिका मन्दिर परिसर सुनसान छ।

जिल्लाको जैमिनी नगरपालिकामा रहेको थन्थापी माई, गल्कोट नगरपालिका–३ मा रहेको ऐतिहासिक गोलकोटकोत, बिहुँको राम मन्दिर, भीमापोखरा भगवती लगायतका मन्दिरहरूमा चैत्राष्टमीको समयमा भक्तजनहरूको ठूलो भीड लाग्थ्यो।

बागलुङ कालिका मन्दिरमा हरेक वर्ष चैत्राष्टमीको बेला मेला हुन्थ्यो तर यो वर्ष भने कोरोना त्रासका कारण भएको बन्दाबस्था (लकडाउन) ले सबै शक्तिपीठहरू बन्द छन्। ‘बिहान यसो निस्केको मन्दिर घुमेर आउँ भनेर आएँ’ कालिका मन्दिर परिसरमा भेटिएका भवानीप्रसाद ढकालले भने ‘सुनसान छ, मान्छेले आफैँले बुझेछन्, कोही नआएका, बाँचे धर्म त फेरि गरौंला नि!’ कालिका मन्दिरमा चैत्राष्टमीको बेला सुनसान भएको सायदै पहिलो घटना हो यो।

मन्दिरमा पूजा गर्ने पूजारीलाई पनि हाइसन्चो छ। भक्तजनका फूल, प्रसाद देवीको मूर्तिमा चडाएर फिर्तादिन भ्याई नभ्याई हुने समयमा उनी घाम तापेर मन्दिर परिसरमा बसिरहेका छन्।

‘दिनमा २०/२२ जना आउनुहुन्छ, फूलपाती चडाएर फिर्ता दिन्छौं’ पूजारी गोपिचन्द्र पौडेलले ढोरपाटनसँग भने ‘कोही आउनुभएकै छैन, सबैले स्वास्थ्यको ख्याल गर्नुभएछ।’

हजारौंको संख्यामा पशुबलि हुने मन्दिरमा बलि चडाउनेहरू पनि कोही नआएको पूजारी पौडेलले सुनाए। ‘एक दुईजना नजिकबाट कुखुरा बोकेर आउनुहुन्छ, हाम्रा स्वयंसेवकले आँफै काटेर चडाउन भन्ने गरेका छन्’ उनले भने, ‘हामीसँग उहाँ र उहाँहरूसँग हामी सबै जोगिनुपर्छ।’

मन्दिरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत कुनै धपेडी छैन। ‘आस्था बोकेर मन्दिर आउनेलाई नआउ भन्न मिलेर एकाद आउनेहरू आँफै दुरी कायम गरेर आएका छन्’ प्रहरी हवल्दार रमेश कुर्मीले भने, ‘केही भन्नै पर्नेगरी कोही आएकै छैन’ सबैलाई ढुक्क छ।

कालिका भगवति गुठी व्यवस्थापन समितिले यस अघिनै चैत्राष्टमी मेला स्थगन गरेको थियो। हरेकबर्ष मेला हुने मन्दिर छेउको कालिका बाटिकामा पनि चराचुरुङ्गी चरीरहेका छन्। मन्दिरमा नियमित चल्ने नित्य पुजा पुजारीले गरिरहेका छन्।

चैते दशैं र विजयादशमीको समयमा यस मन्दिरमा ४० देखि ५० हजार दर्शनार्थीले मन्दिरमा पुग्ने गरेको तथ्यांक छ। कालिका मन्दिरभन्दा बाहिरका मन्दिरहरूमा पनि आज कुनै भिड छैन। एकाद भक्तजनहरू बाहेक थन्थापीमाईको मन्दिरमा पनि कोही नपुगेको त्यहाँका स्थानीयले बताए।

अन्य शक्तिपीठहरू समेत सुनसान छ। गाउँघरमा समेत अरू बेलाको जस्तो चैते दशैंको रौनक छैन। गाउँका कतिपय शक्तिपीठमा भने स्थानीयले आफ्नो धर्म अनुसारको कर्म गरिरहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.