विपन्न परिवारलाई घरमै पुगेर राहत वितरण गरिँदै

|

बर्दिया : विश्वव्यापी महामारी कोरोनाको संक्रमणले बिपन्न वर्गमा पर्न गएको असरलाई मध्यनजर गर्दै ठाकुरबाबा नगरपालिकाअन्तर्गतका उद्यमी व्यवसायीले नगरपालिकालाई २६ क्विन्टल चामल सहयोग गरेका छन्।

नगरपालिकाअन्तर्गतका साना मिल व्यवसायी उप समिति, नेपाल घरेलु तथा साना उद्योग महासंघ ठाकुरबाबा नगरपालिकाका व्यवसायीद्वारा १ लाख ४ हजार ४ सय रूपैयाँ बराबरको २६ क्विन्टल चामल ठाकुरबाबा नगरपालिकालाई उपलब्ध गराइएको छ। ठाकुरबाबा नगरपालिकालाई नगरप्रमुख घननारायण श्रेष्ठ, उप प्रमुख कृष्णा कुश्मा थारू र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको उपस्थितिमा २६ क्विन्टल चामल उपलब्ध गराइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ठाकुरबाबाका अध्यक्ष अर्जुन शर्माले जानकारी दिए।

भण्डारी राइस मिलबाट साबित्री जातको उक्त चामल खरिग गरेर नगरपालिकालाई हस्तान्तरण गरेको साना मिल व्यवसायी उप समितिका अध्यक्ष काशीराम भण्डारीले बताए। यस्तै ठाकुरबाबा नगरपालिकाको सहकारी सञ्जालले २० हजार, नारि एकता शक्ति केन्द्रले १० हजार नगद सहयोग प्रदान गरेको ठाकुरबाबा नगरपालिकाका नायब सुव्वा चक्रपाणि आचार्यले जानकारी दिए।

देश लकडाउनको अबस्थामा रहेका बेला विपन्न परिवारका परेको असरलाई सम्बोधन गर्न उद्यमी व्यवसायिहरुले सहयोग गर्न थालेका हुन्। अति विपन्न बिहान बेलुका ज्याला मजदुरी गरि खाने घरपरिवार पहिचान गरी वडा अध्यक्ष संयोजक रहेको समितिले वडाको यथार्थ विवरण संकलन गर्ने, असर पर्न सक्ने अवस्था आंकलन गर्ने र तत्काल त्यस्ता परिवारलाई राहत वितरण गर्ने निर्णय नगरले गरिएको छ।

यस्तै नगरपालिकाभित्र रहेका व्यक्ति संघसंस्था वा अन्य निकायले राहत वितरण गर्दा नगरपालिकामा रहेको विपद व्यवस्थापन कोषमार्फत वितरण गर्ने र विपद व्यवस्थापन कोषमा आवश्य सहयोगका लागि आह्वान गर्ने निर्णय परिएको ठाकुरबाबा नगरपालिकाका नायब सुव्वा आचार्यले जानकारी दिए।

राहत वितरण गर्दा परिवारको सदस्य संख्याको आधारमा आवश्यक पर्ने खाद्यान्न निर्धारण गरी चामल, दाल, नुन र तेल वितरण गरिने छ। वडाबाट सिफारिस भएका आधारमा प्रतिव्यक्ति ३ केजी चामल, प्रतिपरिवार २ केजी दाल, एक पोका नुन र एक पोका तेलका दरले उपलब्ध गराउने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए।

ठाकुरबाबा नगरपालिका ८ बाट विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ। मंगलबार वडाका १५ परिवारका ५१ जना सदस्यलाई ३ केजीका दरले चामल, प्रतिपरिवार २ केजी दाल, १ केजी नुन र १ पोका तेल वितरण गरिएको हो।

नगरका ९ वटै वडामा राहत सामग्री वितरण गरिने नगरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.