गाउँमा नआउन र गाउँबाहिर नजान उर्दी

|

म्याग्दी : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन म्याग्दीको ग्रामीण भेगका स्थानीयले अपरिचितलाई गाउँमा छिर्न दिएका छैनन् । स्थानीयले गाउँ छिर्ने नाका बन्द गरेका छन्। छिमेकी जिल्ला बागलुङकी एक युवतीलाई कोरोना पोजेटिभ देखिएसँगै बागलुङ जोड्ने नाकाहरुमा पर्ने पक्की पुल, झोलुंगेपुल र पैदलयात्रामा समेत स्थानीयले कडाइ गरेका छन् ।

त्यसैगरी दुई साता लामो लकडाउनका कारण घरमा बस्‍न दिक्क लागेपछि जिल्लाको पर्यटकीयस्थल टोड्केमा जाने मानिसको संख्या बढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने भयले स्थानीयले पर्खाल लगाएर, सूचना बोर्ड नै टाँस गरी गाउँमा आउन पूर्ण निषेध गरेका छन् । लकडाउनको उल्लंघन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यकबाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द नै भएको मंगला गाउँपालिका २ भाइवाङका युवा सन्देश आचार्यले बताए ।

‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन, अति आवश्यक परेकालाई युवाहरुको सहयोगमा बाटो खुल्ला गर्छौं’, उनले भने । जिल्लाका मंगला गाउँपालिकाका कुहूँ, डडुवा, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको घारलगायत गाउँका नाका बन्द गरिएको छ। 

एक गाउँबाट अर्को गाउँमा अनावश्यक हिँड्न प्रतिबन्ध

अरु ठाउँबाट आफ्नो गाउँमा कोही पनि नआउन र अत्यावश्यक कामबाहेक आफ्नो गाउँबाट कोही पनि बाहिर नजान ती गाउँका जनप्रतिनिधि र सचेत युवाहरुले उर्दी नै जारी गरेका लाल युवा क्लब पूर्णगाउँका सचिव सागर सुवेदीले बताए । 

सुवेदीले बाहिरबाट गाउँ भित्रनेलाई मात्रै होइन गाउँमा पनि खेतबारीको काम गर्दा भीडभाड गर्ने, समूह बनाएर छलफल गर्ने, बिनाकाम गाउँमा डुल्ने, साबुनपानीले नियमित हात नधुनेहरुलाई समेत सचेत बनाइएको बताए ।

ग्रामीण सडकमा ठाउँठाउँमा ढुंगा थुपारिएको छ भने केहीमा ह्युमपाइपसमेत राखेर बाटो बन्द गरिएको छ । एउटै वडाभित्र रहेका अर्को गाउँमा जानसमेत रोक लगाइएको छ । यसका साथै स्थानीय तहहरुले स्वयंसेवक दस्ता गठन गरेर परिचालनसमेत गरेका छन् । लकडाउनको अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम बढेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका १० पात्लेखेतका युवा भीमनाथ शर्माले बताए । केही बस्तीमा सडक छेक्न लगाइएको बारमा नै कोरोनाबाट बच्ने उपायलगायत सन्देश लेखेर टाँसिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.