|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइ जित्न कोरोना भाइरस संक्रमण परीक्षण, पहिचान, ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा जोड दिन आग्रह गरे। भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहीबार उनले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गरे।

केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरूलाई उनले धन्यवाद ज्ञापन समेत गरे। 

‘लकडाउन’ का कारण कोरोना भइरसविरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उनले बताए। प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार कोरोना विरुद्धको लडाइँमा प्रदेशहरूले गरिरहेको कामको बारेमा उनले जानकारी गरेका थिए । उनीहरूले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विशेष चासो राखेको वक्तव्यमा जनाइएको छ। 

भिडियो बैठकमा अन्य देशहरूले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो। बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुने गरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताए। उनले भने,'अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शंक लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने, आइसोलेसन र क्वारेनटाइनमा राख्नेतर्फ विशेष जोड दिनुपर्ने भएको छ।'  

प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामग्रीको उत्पादन, वितरण र उपलव्धतामा ख्याल गर्न पनि आग्रह गरे। कोरोना भाइरसबाट संक्रमितलाई उपचारको पर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उनले जोड दिए। 

बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विशेष सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए। प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअधि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.