|

बाग्लुङ​ : कोरोना भाइरसबाट संक्रमित छैटौं व्यक्तिको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

अस्पतालका डा. प्रदीप श्रेष्ठले ती महिलालाई आइसोलेसन वार्डमा राखेर उपचार हुने जनाएका छन्। जसका लागि सबै तयारी भइरहेको उनले बताए। पाँचौ संक्रमित युवतीको पनि सोही अस्पतालमा नै उपचार भइरहेको छ। 

ती महिला बेल्जियमबाट पाँचौ संक्रमित युवतीसँगै कतार एयरको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा नेपाल आएकी थिइन्। उनीसँगै कतार एयरवेजको बिमानमा आएका दुई युवतीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाग्लुङले ती महिलाको थ्रेट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो। मंगलबार पठाइएको नमुना परिक्षणको नतिजा बिहिबार आएको हो। पाँचौ संक्रमित युवती पनि बागलुङ नगरपालिका–४ कँुडुलेकी हुन्।

कोरोना संक्रमित महिलाको स्वास्थ्य सामान्य रहेको उनका छोराले बताए। ‘आमा दमको बिरामी भए पनि खासै अन्य समस्या देखिएको छैन्,’ उनले भने, ’जनस्वास्थ्यबाट खबर आएको छ, अञ्चल अस्पताल लगेर त्यही आइसोलेसनमा राख्ने कुरा भएको छ। आमाले खासै चिन्ता गर्नु भएको छैन, हामीलाई सम्झाउनुभएको छ।’

जिल्लाका दुईजनामा कोरोना संक्रमण देखिएपछि बाग्लुङवासी त्रसित बनेका छन्। स्थानीयले कोरोना रोकथाम र नियन्त्रण लागि भएका कार्यक्रम पनि प्रभावकारी नभएको गुनासो गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.