|

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ। 

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षणबाट संक्रमण नदेखिएको जानकारी दिए। उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए। फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए। 

कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए। यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो।

संयुक्तराज्य अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ। अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.