|
फाइल फोटो

बारा :  कोरोना भाइरसबाट जोगिन तथा सुरक्षित हुने विभिन्न उपायहरु खोजिन थालेका छन्। अन्तर्राष्ट्रियस्तरमा यसको औषधि र खोपको परीक्षण पनि भइरहेको छ।

नेपाल सरकारले कोभिड-१९ को रोकथामको लागि लकडाउन जारी छ। यतिबेला काठमाडौं महानगरपालिकालगायत देशका विभिन्‍न क्षेत्रहरूमा दैनिकजसो भिडभाड हुने क्षेत्रमा डिसइन्फेक्सन स्प्रे औषधि छर्किन थालिएको छ। भाइरसको रोकथाम र हावाको माध्यमबाट त्यस्ता विषाणुको सक्रियता नबढोस् भनेर औषधि छर्कन थालिएको हो।
बाराका विभिन्न स्थानीय तहले पनि ‘डिसइन्फेक्सन’ स्प्रे छर्कन सुरु गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र निजगढ नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका लागि यो अभियान थालेका हुन्।

यसै सिलसिलामा बारा थाहाकर्मी महेश्वर अधिकारीले कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवनका उपप्रध्यापक डा. अनन्त दाहालसँग डिसइन्फेक्सन र किटनाशक औषधिबारे टेलिफोनबाट गरेको कुराकानीको सम्पादित अंश :

किटाणु, विशाणु जीवाणु फरक–फरक हुन्छन्। किट भन्नाले किरा प्रजातिमा पर्छन्, त्यो भनेको कमिला, लाइकिरा, पुतली, मौरी, किर्ना, उपिया, लामखुट्टे, जस्ता प्रजाति जसको ६ वटा खुट्टा, पखेटा हुन्छ केहीको पखेटा हुँदैन। किटनाशकले यी किरालाई मार्ने काम गर्छ।

हामीलाई अरू रोग क्षयरोग, टाइफाइड जस्ता रोग किटाणुको कारणले हुनेगर्छ। यसरी हेर्दा किट र किटाणु फरक भयो। किटाणु भनेको ब्याक्टेरिया हो । ब्याक्टेरियालाई मार्ने भनेको एन्टिबाइटिकले हो।

डिसइन्फेक्सनले पनि ब्याक्टेरियालाई मार्छ। अहिले जुन कोरोना भाइरसको कुरा आएको छ, त्यो चाँहि भाइरस अर्थात् विशाणु हो। विशाणुलाई एन्टिबाइटिकले केही गर्न सक्दैन। यो विशाणु नष्ट गर्न डिसइन्फेक्सन चाहिन्छ। यसलाई मार्नेभन्दा पनि निष्‍क्रिय बनाउने हो। जहाँ मानिस, पशुपक्षी नभएको ठाउँमा छर्कने प्रक्रियालाई डिसइन्फेक्सन भनिन्छ।

त्यसले विभिन्न तरिकाले काम गर्छ, जस्तै कि एउटा भाइरसको शरिरमा कभर हुन्छ, त्यसलाई नष्ट गरिदिन्छ र भाइरसमा आक्रमण गरेर रोग सार्न सक्ने क्षमता गुमाउँछ।

कहाँ प्रयोग गर्ने?

हामीले जुन ठाउँमा मानिस, चराचुरुङ्गी र पशु छैन, त्यो ठाउँमा डिस्इन्फेक्सनको प्रयोग गर्नुपर्छ। यसमा तीनवटा बुझाई हुन आवश्यक छ। एउटा डिस्इन्फेक्सन अर्को सेनिटाइजर र एन्टिसेफ्टीप भन्ने शब्‍द हुनुपर्‍यो। सेनिटाइजर भनेको हाम्रो शरीरमा हामी आफैँले प्रयोग गर्न सक्छौं, जस्तै आयोडिन हुनसक्छ, अहिलेको ह्याण्ड सेनिटाइजरमा स्पिरिट हुनसक्छ। जुन हामीले शरीरमै दल्न सक्छौं।

अर्को एन्टिसेफ्टीप, जस्तै हाम्रो हात–खुट्टामा घाउ हुँदा, हस्पिटल जाँदा डाक्टरले आयोडिन लगाइदिनुहुन्छ, त्यो एन्टिसेफ्टिप भयो। त्यसले भाइरस र ब्याक्टेरिया रहन दिँदैन, नष्ट गरिदिन्छ।

त्यस्तै, डिसइन्फेक्सन भनेका चाँहि जुन हामीले हाम्रो शरीरमा प्रयोग गर्न सक्दैनौं। तर हामीले प्रयोग गर्ने माध्यम वा साधनमा जस्तै भुइँमा, भित्तामा, समाउने रेलिङ्गहरूमा प्रयोग गर्न सक्छौं, त्यो चाँहि डिसइन्फेक्सन भयो। डिसइन्फेक्सन पनि विभिन्न प्रकारका हुन्छन्। यसले भाइरस, ब्याक्टेरिया र ढुसीजन्य पदार्थमा भएको प्रोटिनलाई जमाइदिन्छ अर्थात् नष्ट गरिदिन्छ। रोग लगाउन सक्ने क्षमता रहँदैन।

कसरी प्रयोग गर्ने?

डिसइन्फेक्सन दुईवटा फर्मेसनमा आउँछ, एउटा धुलो र झोल। झुलोको प्रयोग गर्दा ५ ग्राम एक लिटर पानीमा हाल्नुपर्छ। पानीले भिज्नेगरी स्प्रे गर्नुपर्छ। झोलमा आउने डिसइन्फेक्सनलाई ५ एमएल एक लिटर पानीमा प्रयोग गरेर प्रयोग गर्नपर्छ।

थर्मल कभर यन्त्रको प्रयोग गरेर पनि गर्न सकिन्छ। त्यसमा झोल राखिदिएपछि आफैँ काम गर्छ। चीनले कोरोनाको मुख्य केन्द्र वुहानमा यस्तै विधि प्रयोग गरेको थियो। एउटा सानो मोटर लिएर एकजना मानिस अगाडि हिँडिरहेको हुन्छ। त्यसको पछाडि धुँवाजस्तो निस्केको हुन्छ, त्यसलाई थर्मल कभर भनिन्छ।

सुरक्षामा ख्याल गरौं

डिसइन्फेक्सन गर्दा शरीरमा नपर्ने गरी गर्नुपर्छ। यदि बन्द कोठामा डिस्इन्फेक्सन गछौं भने जस्तो कि कुखुराको खोरमा माथितर्फ रहेको छानोदेखि अन्य सामाग्रीमा पर्ने गरि गर्नुपर्छ। खुल्ला ठाउँमा डिस्इन्फेक्सन गर्दा जमिनदेखि धेरैमाथि गर्नुहुँदैन्। सकभर जमिनबाट तीन फिटमाथि नै स्प्रे गर्नुपर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.