|

बाँके : भारत सीतापुरका नसिफ बेहना दैनिक १० घण्टा इँट्टा बनाउनमा बित्छ।

विहानी खाजा खाएदेखि नै उनी इँट्टाको कामा खटिन्छन्। उनको काममा उनका बालबच्चा र श्रीमतिले पनि साथ दिन्छन्। तीन छोरा, दुई छोरी र पत्नीसहित ६ महिनाअघि सपरिवार नेपालगन्ज आएका उनको परिवार नेपालगन्ज उपमहानगरपालिका १३, उदयपुरस्थित किसान इँट्टा उद्योगमा इँट्टा बनाउने काम गर्छ। उनले प्रतिइँट्टा एक रुपैयाँ पाउँछन्। उनी जस्तै भारत सीतापुरका ५२ परिवार किसान इँट्टा उद्योगमा इँट्टाको काम गर्छन्। इँट्टा उद्योग नजिक लस्करै साना–साना झुपडी बनाएर बसेका उनीहरूको विहान, बेलुका ठूलै जमघट हुन्छ। 

दिनभर इँट्टा बनाउने काममा ब्यस्त हुने भएकोले विहान-बेलुका सवै भेला भएर एक आपसमा भएका समस्याका कुरा आदान प्रदान गर्ने गरेको मजदुरका प्रमुख अब्दुल अजिजले बताए। उनले किसान इँट्टा उद्योगमा मात्र ५२ परिवार मजदुरका झण्डै २५० जना बस्दै आएको बताए।

मुलुक कोरोना भाइरसका कारण 'लकडाउन'को अवस्थामा भए पनि इँट्टा उद्योगमा काम गर्ने मजदुर 'यसबारे जानकार छैनन्। कोरोना भाइरसको महामारी फैलिएको भन्ने सुने पनि उनीहरूलाई यसको कुनै प्रवाह छैन।

दिनभर काममा व्यस्त हुने भएकोले कोरोनाको बारेमाा जानकारी नभएको किसान इँट्टा उद्योगमा कार्यरत मजदुर अब्दुल वाहिदले बताए। ‘हामीलाई आफ्नो कामसँग मात्र मतलव छ। कोरोना सोरोनाको बारेमा हामीलाई कुनै वास्ता छैन,’ उनले भने, ‘काम गरेर खानेलाई केको 'लकडाउन' न सकडाउन।’ 

भारतको सीतापुर घर बताउने मुस्तफा हुसैनले पनि आफूलाई कोरोनाको बारेमा जानकारी नभएको बताए। उनका आफन्तले कोरोना फैलिएको छ यताउता नजानु, साबुन पानीले राम्रोसँग हात धुनु भनेर फोन मार्फत सुझाउने गरेको मुस्तफाले बताए।

‘कोरोना खै कसरी सर्छ? गाउँघरबाट राम्रो सँग बस्नु, हातमुख सावुन पानीले धुनु, यताउती बाहिर नडुल्नु भन्ने खवर आएको छ। अरु कुरा हामीलाई थाहा भएन,’ उनले भने। त्यसो त किसान इँट्टा भट्टामा मजदुरको रुपमा काम गर्दै आएका सीतापुरकै नसिफ बेहना कोरोना भाइरस बारे जानकार छैनन्। उनले कोरोना सर्ने माध्यम र बच्ने उपायका बारेमा जानकारी नभएको बताए। ‘खाना खानेबेला साबुन पानीले हात धुने र धेरै जनासँग भेटघाट नगर्ने भन्ने सुनेको छु। तर बच्ने उपायको बारेमा कुनै जानकारी छैन,’ उनले भने।  

इँट्टा उद्योगमा काम गर्ने अधिकांश मजदुरले कोरोनाको बारेमा सुनेपनि सर्ने माध्यम र जोगिने उपायको बारेमा जानकार छैनन्। सोही इँट्टा उद्योगमा परिवारसहित काम गर्ने भारतका साहिद जोलाहले पनि कोरोनाको बारेमा जानकारी नभएको बताए। ‘धेरैजनासँग भेट गर्दा कोरोना भाइरस सर्छ भन्छन्। तर के कसरी सर्छ भन्ने सुनेको छैन,’ उनले भने।  

बाँकेका इँट्टा उद्योगमा १५ सय भारतीय मजदुर

बाँकेका अधिकांश इँट्टा भट्टामा भारतीय कामदारले इँट्टाको काम गर्दै आएका छन्। यहाँका इँट्टा उद्योगमा मात्र एक हजार पाँचसय बढी भारतीय मजदुर कार्यरत रहेको बाँके जिल्ला इँट्टा उद्योग व्यवसायी संघका अध्यक्ष जइनुल खाँले बताए। उनले ६ महिना अघि भारतबाट आएका मजदुर अहिले पनि काम गरिरहेको जानकारी दिए। भारतबाट परिवारसहित आउने भएकोले उनीहरुलाई काम लगाउन सजिलो हुने उनको भनाई छ।

‘हरेक वर्ष असोज-कात्तिकमा इँट्टा उद्योगमा काम गर्न मजदुर आउँछन् र बैशाख-जेठमा फर्किन्छन्,’ उनले भने। इँट्टा उद्योगमा बालबालिका पनि इँट्टा बनाउने काममा खटिन्छन्। ती बालबालिकाले माटो, बालुवा, इँट्टा ओसार्ने काममा बाबुआमालाई सघाउँछन्। किसान इँट्टा उद्योगमा मात्र झण्डै ६० जना बालबालिकाले बाबुआमासँगै काम गर्दै आएका छन्।

‘मजदुरका रुपमा नभई बाबुआमालाई सघाउने गरी बालबालिका काममा खटिन्छन्,’ मजदुरका नाइके अब्दुल अजिजले भने। भारतीय मजदुर इँट्टाको काम गर्न दाङ समेत पुग्ने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.