|

दैलेख : जिल्लाकोे नौमुले गाउँपालिकाको नौमुले बजारमा रहेको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुलाई एक समूहले गाउँपालिका छोड्न धम्की दिएको छ। स्वास्थ्य केन्द्रमा कार्यरत डा विप्लव सुवेदीलगायत स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्दै शुक्रबार गाउँपालिका छोड्न चेतावनी दिएको स्वास्थ्य केन्द्रमा कार्यरत डा।विप्लव सुवेदीले बताए। 

बिरामीलाई उपचार गरिरहेको समयमा स्वास्थ्य केन्द्रमा मदिरा सेवन गरेर आएका नौमुले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरका सवारी चालक कुलविर खत्री स्थानीय गणेश थापा र दिनेश चन्दको समूहले पालिका छोड्न चेतावनी दिँदै नछोडे जे पनि हुन सक्ने धम्की दिएका हुन्।  

कोरोनाको त्रास फैलिरहेको बेला बिरामीलाई केही दूरीमा राखेर पालैपालो उपचार गरिरहेको अवस्थामा शुक्रबार बिहान ११ बजेतिर आएका उनीहरुले आफन्त बिरामीको हातै समातेर छिटो उपचार गर्नुपर्ने र नगरेमा गाउँपालिका छोड्नुपर्ने भनेका स्वास्थ्य केन्द्रमा कार्यरत सुवेदीले थाहाखबरकर्मीसँग बताए। 

असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन

कोरोनाको त्रासका बेला स्वास्थ्य कर्मीले जतिबेला पनि स्वास्थ्य केन्द्र आउनुपर्ने भएकोले असुरक्षित महसुस भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। स्वास्थ्य केन्द्रमा बिरामीहरु जतिबेला पनि आउनसक्ने भन्दै स्वास्थ्यकर्मी उपचारमा रातिको समयमा खटिनुपर्ने हुनाले असुरक्षा महसुस भएकाले प्रशासनमा ज्यान सुरक्षाको निवेदन दिएको डा सुवेदीले बताए। 

यता दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्वास्थ्यकर्मीहरुको ज्यान सुरक्षासम्बन्धी निवेदन प्रशासनमा आएको र यस विषयमा प्रक्रिया अगाडि बढिसकेकाले दोषीमाथि कारबाही गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.