|

विज्ञहरुले कोरोना भाइरसका कारण जापानको राजधानी टोकियो अमेरिकी शहर न्युयोर्कको हालतमा पुग्ने चेतावनी दिएका छन्। टोकियोमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ र खराब समाचार आउन रोकिएको छैन।

संक्रमितहरुको संख्या अघिल्लो दिनको भन्दा दोब्बरले बढिरहेको टोकियोको स्थानीय प्रशासनले जनाएको छ। यही दरले बिरामीहरुको संख्या बढ्दै गए जापानीहरुले निकै खराब नतिजा ब्यहोर्नुपर्नेछ। 

कोबे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केन्तारो इवाताले कोरोना संक्रमण रोक्न सरकारले पर्याप्त काम नगरेकोमा चेतावनी दिइरहेका छन्। उनले भनेका छन्, 'हामी खराब बाटोमा छौं, अब टोकियो दोस्रो न्युयोर्क शहर बन्न सक्ने जोखिम बढेको छ।'

यतिखेर न्युयोर्क शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र बनेको छ। त्यहाँ हरेक पाँच दिनमा दोब्बरका दरले संक्रमितहरु थपिइरहेका छन्। यो शहरमा मात्रै अहिलेसम्म तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ। 

जापानमा शुक्रबार मात्रै कोरोना संक्रमणका कारण ७४ जनाले ज्यान गुमाएका छन् भने ३३ सय २९ जना नयाँ संक्रमित भेटिएका छन्। शुरुवातमा स्पेन, फ्रान्स, इटली र अमेरिकाको न्युयोर्क शहरमा जस्तै यतिखेर जापानमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ।

संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने र धेरै भन्दा धेरै मानिसहरुको स्वास्थ्य परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन्। संक्रमित र हताहतीको संख्या अन्यत्र झै‌ं नबढेकाले समयमै यो काम गरे क्षतिबाट बच्न सकिने उनीहरुको भनाई छ। जापानमा अहिलेसम्म कोरोना संक्रमणबाट ६३ जनाको ज्यान गएको छ भने २५ सयभन्दा बढी संक्रमित भेटिएका छन्‌।

१ करोड ३५ लाख मानिसहरुको बसोबास रहेको टोकियोमा हालसम्म चार हजार मानिसको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ। समग्र जापानको अवस्था पनि त्यस्तै छ।  देशभर १२ करोड ५० लाख मानिसहरु बसोबास गर्ने गरेपनि जम्माजम्मी ४० हजार मानिसमा मात्रै संक्रमण भए/नभएको परीक्षण गरिएको छ।

जापानमा भन्दा निकै कम जनसंख्या भएको दक्षिण कोरियाले बरु शुक्रबारसम्म चार लाख ४० हजार मानिसहरुको स्वास्थ्य परीक्षण गरिसकेको छ। समयमै सजगता अपनाएका कारण दक्षिण कोरियामा अन्यत्रको जस्तो ठूलो मानवीय क्षति भोग्नुपरेको छैन। 

अमेरिकाको जस्तै चाला

कोरोना महामारी नियन्त्रण गर्ने सवालमा जापानी अधिकारीहरुले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै रुझान देखाइरहेका छन्। बढी जोखिममा रहेका मानिसहरुमा संक्रमण भए/नभएको परीक्षण गरिने जापानका स्वास्थ्यमन्त्रीले सीएनएनलाई बताएका छन्।

उनले भनेका छन्, 'संक्रमणको थोरै सम्भावना भएका मानिसको स्वास्थ्य परीक्षण गर्नु स्रोत खेर फाल्नु हो, संक्रमणका प्रारम्भिक लक्षण देखिएका मानिसहरुलाई हामीले घरमै बस्न भनेका छौं।'

नागरिकले पर्याप्त सूचना नै पाएनन्

कोरोना संक्रमित इसेइ वातानाबे यतिखेर टोकियो अस्पतालमा छन्। सास लिँदा र खोक्दा कठिन संघर्ष गरिरहेका उनलाई डाक्टरहरुले संक्रमणको मध्यम अवस्था रहेको र ठीक हुँदै गएकाले आगामी मंगलबार डिस्चार्ज गरिदिने बताएका छन्। 

४० बर्षका वातानाबे धुमपान गर्दैनन्, संक्रमणअघि उनको स्वास्थ्यअवस्था सामान्य थियो। उनमा निकै छिटो संक्रमणको लक्षणहरु देखियो, शरीर थाक्यो, चिसो महशुस भयो, सुझबुझ हरायो र खानेकुराको स्वाद तथा वास्ना पनि पत्तो पाउन छाडे। 

उनले आफूमा भाइरस संक्रमण/भए नभएको परीक्षण गर्न आग्रह गरे। तर परीक्षण गरिएन। लक्षण देखिएको चार दिनमै उनलाई १०४ डिग्री ज्वरोले च्याप्यो।

त्यसपछि मात्रै उनको परीक्षण गरियो। नतिजा : उनमा कोरोना संक्रमण भइसकेको आयो। परीक्षण होउन्जेलसम्म वातानाबेमा देखिएको संक्रमण अरु दुई जनामा फैलिइसकेको थियो। 

'मानिसहरुलाई के गर्ने भन्ने नै थाहा भइरहेको छैन, यहाँ सही सूचनाको साँच्चै नै अभाव देखिएको छ,' वातानाबेले भने, 'हाम्रो जीवन हाम्रै हातमा छ, म के आग्रह गर्छु भने कृपया घरमै बसौं, बाहिर ननिस्कौं।' ६५ बर्षभन्दा माथिका करोडौं जापानी बृद्धबृद्धाहरुको स्वास्थ्यलाई लिएर वातानाबे निकै चिन्तित देखिन्छन्। 

संक्रमण यसरी नै फैलँदै गए जापानले ठूलो मानवीय मूल्य चुकाउनुपर्ने महामारी विज्ञहरुले चेतावनी दिइरहेका छन्। 

'लकडाउन हुँदैन' : आबे 

जापानका प्रधानमन्त्री सिञ्जो आबेले संक्रमणको अवस्थामा नियन्त्रणमै रहेकाले जापान या टोकियोमा आपत्तकाल या लकडाउन नहुने दोहोर्‍याइरहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि त्यहाँ सैयौंको संख्यामा मानवीय हताहती नहोउन्जेल यस्तै अभिव्यक्ति दिँदै आएका थिए। शुरुवाती अवस्थामा सजगता नअपनाउँदा अहिले अमेरिकामा कोरोनाका कारण सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

ज्यान गुमाउनेहरुको संख्याका हिसाबले अमेरिका अहिले तेस्रो स्थानमा छ। जापानी अधिकारीहरुमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै जस्तो सुरुवाती हेल्चेक्र्याइँ देखिएको छ। 

टोकियो ओलम्पिक स्थगित भएको र अर्थतन्त्रमा यसअघि नै समस्या देखिएकाले लकडाउन या आपत्तकाल घोषणा गरेर थप नाटकीय क्षति व्यहोर्न नसक्ने प्रधानमन्त्री आबेले बताएका छन्। कानुनविद्हरुले भने जापानी नागरिकलाई ठूलो आकारको आर्थिक प्याकेज आवश्यक रहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.