|
फाइल फोटो

सिन्धुली : यहाँको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ। 

शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो। कोभिड–१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै कार्यपालिकाले दुई महिनाको भत्ता समयसीमाभन्दा अगाडि नै उपलब्ध गराउन लागेको प्रमुख घनश्याम राउतले जानकारी दिए।

'नियमअनुसार असारमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने हो, तर अहिलेको विद्यमान समस्याका कारण नगरपालिकाले समस्यामा परेकालाई राहत मिल्ने गरी यस्तो निर्णय गरेको हो', उनले भने। यसो गर्दा पछि दुई महिनाको मात्र सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने उनको भनाइ छ।

अग्रिमरूपमा भत्ता उपलब्ध गराउँदा विपन्न वर्गमा नगरपालिकाले तत्काल राहत दिनेको सङ्ख्यामा समेत कमी हुने उनले जानकारी दिए। उनका अनुसार अबको केही दिनभित्र नगरपालिकाबाट सामाजिक सुरक्षाभत्ता लिँदै आएका पाँच हजार ७१५ लाई वितरण गरिनेछ। दुई महिनाको सामाजिक सुरक्षाभत्ता दुई करोड ५० लाख रूपैयाँ वितरण हुने उनको भनाइ छ।

यस्तै कार्यपालिकाले विपन्न वर्गको तथ्याङ्क सङ्कलन गर्ने, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई निर्देशिकाअनुसार सेवासुविधा दिने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, कोभिड–१९ बाट बच्ने उपायका बारेमा तीव्ररूपमा प्रचारप्रसार गर्नेसमेत निणर्य भएको प्रमुख राउतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.