विदेशबाट आएकाले स्थानीयलाई पनि सारेको पुष्टि

|
प्रतीकात्मक तस्वीर

काठमाडौं : नेपालमा एकैसाथ तीनजना कोरोना संक्रमित फेला परेका छन् । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको पुष्टि भएको छ । नेपालमा हालसम्म फेला परेका नौ जना संक्रमित मध्ये एकजना उपचार पछि घर फर्किसकेका छन् ।

तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार थालिएको छ। कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण भएको बताइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्। 

मन्त्रालयका अनुसार आज फेला परेका सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको हो।

'दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ', स्रोतले भन्यो, 'यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ।'

मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन्। कैलाली, कञ्‍चनपुरका तीनैजनामा परीक्षण गर्दा शुक्रबार राति संक्रमणको पुष्टि भएको हो।

यसबाट विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमासमेत संक्रमण गराएको पुष्टि गरेको छ। परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन्।

विश्‍व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ। अहिलेसम्म नेपाल सरकारले कोरोना विदेशबाट आएकाबाट समुदायमा नसरेको जनाउँदै आएको थियो।

तर धनगढीको भेटिएको यो केस व्यक्तिबाट समुदायमा पुगेको पुष्टि भएको हो। इटालीमा पनि यसैगरी कोरोना व्यक्तिबाट समुदायमा फैलिएपछि महामारीको रुप लिएको थियो।

अहिलेसम्म नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो। यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो।

यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो।

त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। 

त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका उनै ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। 

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ।

चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन २५ चैत सम्मका म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.