|

काठमाठौं :  चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि कोरोना भएको आशंकामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष अस्पतालले जनाएको छ। सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो। कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

यस्तै, बाग्लुङमा कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया महिलाको परिवारका चारजना सदस्यको थ्रोट स्वाब परीक्षणका लागि पोखरा पठाइँदैछ। हिजो संकलन गरिएको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइने धौलागिरी अञ्‍चल अस्पतालका डाक्टर प्रदीप श्रेष्ठले जानकारी दिए।

हिजो अस्पतालको प्राविधिक टोली महिलाको घरमै पुगेर परिवाका चार जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरेको थियो। एउटै घरमा बस्ने महिलाका ससुरा, बुहारी र दुई नातिको स्वाब संकलन गरिएको डाक्टर श्रेष्ठले बताए।

महिलाको धौलागिरी अस्पतालमा नै उपचार भइरहेको छ। यसैबीच कोरोना संक्रमण पुष्टि भएकी महिलाको सम्पर्क र भेटघाटमा रहेका व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

महिलाको सम्पर्कमा रहेका व्‍यक्तिलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा बसी कोरोना संक्रमणको जोखिम घटाउन काठेखोला गाउँपालिका- का वडा वडाध्यक्ष विद्यापति शर्माले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.