सुरक्षा सतर्कता अपनाउँदै सहयोग बढाउने योजना

|

काठमाडौं  : लकडाउनको बेला सडकका बेसहारा र अनाथ व्यक्तिहरू भोकै रहेको गुनासो आइरहेको छ। हुनेखानेलाई त लकडाउनले छोएको छैन, तर हुँदा खानेको भने अवस्था चौपट भएको छ। कोरोना भाइरसको विश्वब्यापी प्रभावका कारण दैनिक ज्यालादारी मजदुर र सडकमै जीवन व्यतित गर्दै आएकाहरु भोकै बस्नुपर्ने अवस्थामा छन्।

यही संकटपूर्ण परिस्थितिमा सडकका बेसहारा र अनाथहरूलाई खाना खुवाउने अभियानमा जुटेका छन् उद्योगी अजेयराज सुमार्गी। ललितपुर महानगरपालिका-१२ मा शनिबार उनले सयभन्दा धेरै विपन्‍न तथा अनाथ व्यक्तिहरूलाई भोजनको व्यवस्था गरे। ललितपुरस्थित बटुकभैरव मन्दिर प्रांगणमा खाना खुवाउने व्यवस्था मिलाइएको हो। ‘ललितपुर महानगरपालिकाले बटुकभैरवमा सहयोगको खाँचो देखिएको जानकारी दिएपछि हामी यहाँ आएका हौं’, सुमार्गीले भने, ‘हामी अझै सुरक्षित तरिकाले धेरैभन्दा धेरै असहायलाई सहयोग गर्ने योजनामा छौं।’  

सुमार्गीले उपत्यकाका अन्य स्थानमा पनि अभरमा परेका मानिसहरूको समूह भेटिए भोजनको व्यवस्था गर्ने बताए। 'एक दुईजनालाई मात्रै खाना पुर्‍याउन अफ्ट्यारो अवस्था छ। यदि कहीँ कतै २५ जनाभन्दा माथिकाे संख्यामा असहायहरू छन् भने खबर गर्नु होला। त्यस ठाउँसम्म मसहित मेरा सहयोगी साथीहरूले खाना पुर्‍याउँछौँ', उनले भने।

सरकारले समन्वय गरे आफूले सडकका अनाथ व्यक्तिहरूलाई खानाको उचित व्यवस्थापनमा गति दिने पनि सुमार्गीले जानकारी दिए।

ललितपुर नगरपालिका–१२ का वडाध्यक्ष नारायणलाल अवालेका अनुसार, १२ नम्बर वडामा मात्रै झण्डै २ सयजना असहाय सडकमा भोकभोकै बस्दै आएका थिए। महानगरपालिकाको समन्वयमा वडाले यसअघि दाल, चामल, बिस्कुट, दालमोठलगायतका सामग्री वितरण गरिए पनि वडाले दिएको राहत पर्याप्त नभएको र अहिले नियमित खानाको व्यवस्था भएसँगै उनीहरुले राहत महशुस गरेको अवालेले बताए।

हरिकला नामकी महिलाले भनिन, 'हामी भोकभोकै बस्‍नुपरेको छ। मन्दिर र सडकमा देखे स्थानीयले लखेट्छन। हामी कहाँ जाने?'

पशुपतिनाथस्थित सुमार्गी भवनमा पनि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका र सडकमा बस्‍न बाध्य भएका ४ सयभन्दा बढीलाई नि:शुल्क भोजनको व्यवस्था गरिएको छ। उक्त कार्यमा पशुपति क्षेत्र विकास कोष तथा विभिन्न मनकारीहरू जोडिएका छन्।

नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि मुलुकका धार्मिकस्थल पनि सुनसान भएका  छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.