ऋण लिएर व्यवसाय, सरकारी अनुदानको आस

|

काठमाडौं : विश्वभरको कोरोना भाइसर (कोभिड १९)को महामारी फैलिएको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै लडकडाउन गरेको छ। तर, अहिले पनि आफ्नै काममा व्यस्त छन् सिन्धुपाल्चोक चौतारा साँगााचोकगढी नगरपालिका-४ का सुजन श्रेष्ठ।

कोरोना भाइसरको महामारीको कारणले सरकारले लकडाउन गरेपछि सबै सर्वसाधारणलाई घरभित्रै बस्‍न निर्देशन गरेको छ। तर, उनमा त्यो फुर्सद छैन। कृषि व्यवसायमा हात हालेको  युवा जोसमा कोरोना भाइरसको संक्रमणको त्रास छैन। छ त आफ्नो व्यवसायको।

‘आफूले गरेको कामलाई निरन्तरता दिन सकिएन भने डुबिन्छ। त्यसैले कोरोनाको भन्दा आफ्नो व्यवसाय जोगाउनतर्फ केन्द्रित भएका छु’ उनले थाहाखबरसँगकोे कुराकानीको क्रममा भने, ‘गत सालबाट सुरु गरेको व्यवसायमा अहिले उनी मनग्ये आम्दानीको साथ विस्तारको क्रममा छन्।’

नेपाली भूमि त्यागेर वैदेशिक रोजगारीमा भासिनेहरूका लागि दरिलो उदाहरण बनेका छन् अहिले उनी।

‘पोहोर साल ५ सय वटा कुखुराबाट मैले व्यवसाय सुरु गरेँ। त्यसपछि विस्तारको क्रममा लागेँ। अहिले मेरो गोठमा करिब २ हजार कुखुराका चल्ला छन्’ उनले भने, ‘कुखुरासँगै  तरकारी खेतीमा पनि लागेको छु।  त्यसैले यस वर्ष तरकारी रोप्नको लागि जग्गा भाडामा लिएरै सुरु गरेको छु।’ अहिले उनले कुखुरासँगै मौसम अनुसारको तरकारी खेतीसमेत गर्दै आएका छन्।

फापेन काठमाडौं

पछिल्लो समय युवाहरुको मुख्यगरी सपनाको शहर बन्छ संघीय राजधानी काठमाडौं। उनले जीवनको यात्रामा पनि पर्‍यो काठमाडौं। एसएलसी पास गरेपछि उनी पनि हानिए काठमाडौं। तर, उनलाई काठमाडौं नफापेको सुनाउँछन्।

काठमाडौंमा गएर उनले कपडाको होससेल पसल सञ्चालन गरे। ‘कपडाबाट रामै फाइदा भइरहेको थियो। तर, सोचेजस्तो नहुँदो रहेछ’ उनले भने, ‘बनेपामा बाइक दुर्घटनामा परेपछि खुट्टा भाँचियो। काठमाडौंको बसाइ आम्दानीको स्रोत टुटेपछि टिक्न सकिँदो रहेनछ।’

दुर्घटनापछि काठमाडौंमा बस्न सक्ने अवस्था  सिर्जना नभएपछि गाउँ फर्किएको उनी सुनाउँछन्।

ऋण लिएर व्यवसाय, मनग्य आम्दानी

‘काठमाडौंबाट फर्केपछि केही गर्नुपर्ने लाग्यो। त्यसपछि बैठकबाट ५ लाख ऋण लिएर कुखुरा व्यवसाय सुरु गरेँ’ उनले भने, ‘कुखुराबाट राम्रो आन्दानी हुने देखेपछि तरकारी व्यवसायमा पनि सुरु गरेको छु।’

५ लाख ऋण लिएर सुरु गरेको व्यवसायबाट अहिले एक वर्षमा १२/१३ लाखसम्म आम्दानी गर्न सफल भइसकेको उनी सुनाउँछन्। ‘आम्दानी राम्रो भएपछि काठमाडौंको पसलभन्दा गाउँकै व्यवसायले जित्ने रहेछ’ उनी भन्छन्, ‘गरे आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ। विदेशको ४० डिग्रीको तातोका पसिना बगाउनु पर्दैन रहेछ।’ व्यवसाय सुरु गरेपछि परिवारबाट पनि राम्रो साथ पाएकाले सफल भएको उनी बताउछन्।

वडाध्यक्षको आश्वासन

चौतारा साँगाचोगढी नगरपालिकाले मुख्यगरी कृषि उत्पादनमा जोड दिएको छ। त्यही अनुसारको बजेट बिनियोजनसमेत गरेको छ।

नगरपालिकाबाट कृषिमा बजेट आएपछि वडाध्यक्ष चूणामणि नेपालले आफ्नो  वडालाई कृषि पकेट क्षेत्रको रूपमा स्थापित गर्ने घोषणा गरेका छन्। तर, कृषि व्यवसायमा लागेका युवालाई भने जनप्रतिनिधिबाट  सहयोग नभएको उनी गुनासो गर्छन्।

‘वडाध्यक्षले यहाँ आएर एक लाख रुपैयाँ अनुदान दिन्छु त भन्नुभएको छ। तर, कहिले दिनुहुन्छ टुंगो छैन’ उनले भने, ‘युवालाई कृषि उत्पादनमा स्थानीय तहबाट सहयोग पाइदैन।’ अनि कसरी हुन्छ, कृषि पकेट क्षेत्र? कसरी भइन्छ आफैमा आत्मनिर्भर? कसरी हुन्छ पालिकाको योजना पूरा र विकास? प्रश्न गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.