भारतबाट आएका अधिकांश बसेका छैनन् क्‍वारेन्टाइनमा

|

डडेल्धुराः शनिबार नेपालमा एकैसाथ तीनजना कोरोना संक्रमित फेला परेका छन्। उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएको छ।

ती तीनैजना सुदूरपश्चिम प्रदेशका हुन्। जसमा दुईजना कैलाली र एकजना कञ्चनपुरका छन्। तीमध्ये दुई पुरुष छन् भने एक महिला छिन्।

कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। उनी नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेपछि भारतबाट घर फर्किएको पत्ता लागेको हो।

१० चैतमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई ‘लकडाउन’ गरेको थियो।  सरकारले सबै सीमानाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो। 

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको प्रहरीले जनाएको छ। गत ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुमा उनी पनि रहेको बुझिएको कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

ती युवक भारतको मुम्बईस्थित एक होटलमा काम गर्थे। गौरीफान्टा नाकामा चैत ११ गते बिहान भारतबाट फर्किएकाहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रहरी अधिकारीका अनुसार नाराबाजीमा उत्रिएका हजारभन्दा बढीको हुलमा ती युवा पनि सामेल थिए।

गत चैत ११ गते देशमा लकडाउन चलिरहेका बेला गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका नेपालीबीच तनाव भएको थियो।

सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको थियो। आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको थियो। 

सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगासमेत बर्साउँदै केही युवाहरु नेपालतर्फ छिरेका थिए। सरकारले लकडाउन गरेपछि गत चैत ११ गते (मंगलबार) बिहान गौरीफन्टा नाका हुँदै घर फर्किन लागेका नेपालीलाई रोक लगाउँदा नेपाल प्रहरी र घर फर्कन लागेका नेपालीबीच झडप भएको थियो। 

संघीय मन्त्रिपरिषद्को निर्णयपछि कैलालीस्थित सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा अलपत्र परेका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत घर पठाएको थियो।

संघीय सरकारको आदेशपछि सुदूरपश्चिम सरकार र स्थानीय प्रशासनले यातायात प्रालिसँग समन्वय गर्दै उनीहरुलाई गन्तव्यतिर पठाएको थियो।

११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका–९ को प्रतापपुर सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो। 

उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। शनिबार रिपोर्ट पोजेटिभ आएको सार्वजनिकपछि उनलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।

गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जनामध्ये अधिकांश घर फर्किसकेका छन्। तीमध्ये अधिकांश क्वारेन्टाइनमा बसेका छैनन्। थोरै संख्या मात्रै क्वारेन्टाइनमा छन्। 

यहीकारण सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम उच्च देखिएको हो। यहाँ हजारौंको संख्यामा नेपालीहरू भारतबाट घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.