भोलिबाट चितवन र बुटवलमा पनि परीक्षण थालिने

|

काठमाडौंः  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ पुगेको पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा ३ वटा नयाँ केस फेला परेको बताएका हुन्। 

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले कैलाली र कञ्चनपुर क्वारेन्टाइनमा रहेका २१ र ४१ वर्षीया दुई पुरुष र एक ३४ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। ती दुई पुरुष केही दिनअघि भारतबाट आएका थिए। कोरोना पुष्टि भएसँगै उनीहरुलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको छ। 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म धनगढी अस्पतालमा ४ जना, टेकु अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जना गरी ८ जना उपचारको क्रममा रहेको र सबैको अवस्था सामान्य छ। संक्रिमत ९ मध्ये एकजना निको भएर घर फर्किसकेका छन्। 

आज (शनिबार) सम्म देशभर एक हजार ४ सय ४१ वटा टेष्ट गरिएको छ। बाहिर थप ६ ठाउँमा जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा पनि परीक्षण थालिएको छ। चितवन र बुटवलमा जडानको कार्य जारी रहेको र भोलिबाट परीक्षण थालिने बताइएको छ।  

आज देशभर ६९ जना आइसोलेसनमा रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा १५ जना र बाहिर ५४ जना रहेका छन्। 

दुई वटा कलसेन्टर ११३३-१११५ मा हालसम्म आएका कलमध्ये तीन हजार ४६५ कल संबोधन गरिएको छ। त्यसैगरी नयाँ वयबसाइट कोभिड नाइन्टिन डट एमोएचपि डट जिओभी डट एनपी र मोबाइल एप्लीकेशनमा आफ्नो लक्षण इन्टि गर्नेहरुको संख्या ६ हजार ५२७ रहेको छ। तीमध्ये १२६ रेड जोनमा परेका छन्। रेड जोन भनेको कोरोनासंग लक्षण मिल्ने बिरामी हुन्। उनीहरुको फोन र सम्बन्धित महाशाखामार्फत ट्रेसिङ गर्ने काम भइरहेको छ। 

नेपाल दोस्रो चरणमा प्रवेश

नयाँ संक्रमित नयाँ महिला नेपालकै पहिलो केश भएको मन्त्रालयले जनाएको छ। संक्रमितको परिवारको सदस्य रहेकी उनको ट्रावल हिस्ट्रिसमेत छैन । यसअघि विदेशबाट आएकाहरुमा मात्र संक्रमण देखिने गरेको थियो । नेपालमा संक्रमित ब्यक्तिबाट अर्को ब्यक्तिमा सरेको पहिलो केश हो । यसलाई लोकल ट्रासमिसन भनिन्छ। 

किन फैलिँदै छ कोरोना? 

विदेशबाट आएकाहरू अनिवार्यरूपमा क्वारेन्टाइनमा नबसेका कारण यसको संक्रमण फैलिँदै गएको मन्त्रालयले बताएको छ। नयाँ संक्रमणले सावधानीपूर्वक क्वारेन्टाइनमा बस्नुपर्ने चुनौति देखिएको छ । जसले गर्दा आफ्ना परिवारका सदस्यहरुलाई संक्रमण नफैलियोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.